
काठमाडौं। बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग दसैंअघि नै खुलाउन सरकारले नेपाली सेनासमेत संलग्न गराएर अध्ययन थालेको छ।
स्रोतका अनुसार बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको हो।
बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको छ।
‘टोलीमा भौतिक पूर्वाधार मन्त्रालयका ३ जना र नेपाली सेनाका एक जना प्राविधिक थिए,’ स्रोतले भन्यो, ‘वैकल्पिक मार्ग बनाउनका लागि समेत विस्फोटक पदार्थ लगायतको प्रयोग गर्नुपर्ने हुनसक्ने भएकाले सेनालाई पनि संलग्न गराएका हौँ।’
अवरुद्ध बीपी राजमार्गमा खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो। छलफलका क्रममा दाहालले भकुन्डेबेंसीदेखि अगाडिको १० देखि १२ किलोमिटर सडक मर्मतका लागि प्राविधिक पठाउन कठिनाइ भएको बताएका थिए।
‘स्रोत, साधन नहुँदा प्रभावित क्षेत्रमा जान नसक्ने स्थिति भएकाले उहाँ (भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल)ले सेनाको हेलिकोप्टर माग्नुभएको थियो,’ स्रोतले भन्यो, ‘त्यसक्रममा सडक निर्माणका लागि सेनाको पनि आवश्यकता हुनसक्ने भएकाले तत्काललाई प्राविधिक पनि पठाएका हौँ।’
रक्षा स्रोतका अनुसार, यातायात मन्त्री दाहालसँग भेट भएलगत्तै रक्षामन्त्री राईले प्रधानसेनापति अशोकराज सिग्देलसँग सडक मर्मतबारे छलफल गरेका थिए। शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र बीपी राजमार्गमा ठाउँठाउँमा क्षति पुगेको छ। बीपी राजमार्गको काभ्रेको मङ्गलटार नजिकै सडक नै बगाउँदा सयौँ यात्रु बाटोमै अलपत्र परेका थिए। उनीहरूमध्ये थुप्रै पैदल हिँडेर काठमाडौं आएका थिए।