काठमाडौं। आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ।
त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो।
नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो। ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो। नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो।
क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङ्खला दोहो¥याएको छ, जुन जित्न आवश्यक थियो। नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एसोसिएट राष्ट्र बन्न देशबाहिरका खेल जित्न जरुरी छ।
नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौँ स्थानमा छ। आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ। पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन्।
यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ। ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी२० सिरिज पनि खेल्नेछ। त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ।
यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ। त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी२० आई दुवै सिरिज हुनेछ।
क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ।