समाचार
बैंकबाट कम ब्याजमा पैसा लिई सहकारीबाट बढी ब्याज खानेहरूले आन्दोलन गरेः मन्त्री अधिकारी
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आन्दोलनरत सहकारी पीडितहरुमाथि गम्भीर आरोप लगाएका छन् । बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरेको उनको दाबी छ । बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको कार्यक्रममा मन्त्री आफू मन्त्री भएलगतै सहकारी पीडितहरुसँग वार्ता गरेर ८ बुँदे सहमति गरेको बताए । सहमतिका सातबुँदामा काम थालिसकेको भन्दै उनले भने, ‘एउटा बुँदामा काम गरेका छैनौं । किनकी संसदले संसदीय समिति बनाएर छानविन गरिरहेको छ ।’
छानविन समितिको प्रतिवेदन आएसँगै कार्यान्वयन गर्ने भन्दै उनले भने, ‘साना रकम जम्मा गर्ने वचतकर्ताहरु वास्तविक सहकारी पीडित हुनुहुन्छ ।’ आफूसँग धेरै भएको सम्पती सहकारीमा राख्ने र बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीमा राख्ने र बढी ब्याज खानेहरु पनि रहेको भन्दै उनले भने, ‘अहिले सहकारीमा आन्दोलन गर्नेहरु त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन पनि पाउने भए, अर्को उद्देश्य पूरा गर्ने भए ।’