सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई केही समय अघि भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले ‘नेपालमा काम गर्न इच्छुक रहेको’ बताएकी हुन्।
‘नेपालका लागि अमेरिकी राजदूत र स्टारलिंकको निर्देशक भदौमा मलाई मन्त्रालयमै भेट्न आउनु भएको थियो,’ मन्त्री गुरूङले भने, ‘हामी नेपालमा काम गर्न चाहन्छौं भन्नुभयो। मैले हामी छलफल गर्छौं र निर्णय भयो बोलाउँला भनेको थिएँ।’
स्टारलिंकले विश्वका धेरै मुलुकहरूमा सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउँदै आएको छ। त्यसका लागि स्टारलिंकले पृथ्वीको बाहिरी कक्षमा ५ हजार भन्दा बढी स-साना सेटेलाइट राखेको छ। पृथ्वीबाट ४ सय किलोमिटरमाथि रहेका ती सेटेलाइटले पठाएका रेडियो फ्रिक्वेन्सी साना ‘डिस’ मार्फत प्रयोगकर्ताले प्राप्त गर्छन्। जसबाट इन्टरनेट चलाउन सकिन्छ।
फाइबरको प्रयोगबाट इन्टरनेट लैजान अप्ठेरो पर्ने दूर दराजका ठाउँमा स्टारलिंकको इन्टरनेट प्रभावकारी हुने देखिन्छ। नेपालका कतिपय हिमाली ठाउँमा स्टारलिंकको प्रयोग गरेर इन्टर पुर्याउन सकिन्छ। तर नेपालका लागि भने सेटेलाइट इन्टरनेट केही महँगो पर्ने देखिन्छ।
स्टारलिंकले घरेलु प्रयोगकर्तालाई महिनाको १ सय २० डलरमा इन्टरनेट उपलब्ध गराउने गरेको छ। अर्थात् नेपालमा स्टारलिंकको इन्टरनेट प्रयोगकर्ताले मासिक १६ हजार तिर्नुपर्ने हुन्छ। जबकि अहिले नेपालमा फाइबरबाट इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरूले मासिक १५ सय हाराहारीमा इन्टरनेट उपलब्ध गराउँदै आएका छन्।
स्टारलिंकले व्यापारिक प्रयोजनका लागि पनि इन्टरनेट उपलब्ध गराउँदै आएको छ। कतार एअरवेज लगायतका विमान कम्पनीहरूले अहिले स्टारलिंकको सेवा मार्फत विमानमा समेत तीव्र गतिको इन्टरनेट उपलब्ध गराउन थालेका छन्।
भारतले पनि सेटेलाइट इन्टरनेट उपलब्ध गराउन इलन मस्कको कम्पनीका लागि सजिलो हुने गरी सेटेलाइट स्पेकट्रम बाँडफाँडको नीति लिएको छ। जबकि भारतकै एयरटेल र जिओले प्रतिस्पर्धा मार्फत यस्तो सेवा दिने कम्पनी छनौट गर्नुपर्ने बताएका थिए। तर मस्कको कम्पनीका लागि सजिलो बनाउन भारतले प्रतिस्पर्धा भन्दा बाँडफाँडको नीति लिएको हो।