काठमाडौं। काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन्।
मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिङ्गो महानगर नै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडि असन्तुष्टि जनाएकी हुन्।
कार्यपालिका बैठकमा डंगोलले भनिन्, ’महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ। प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ।’
यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयर स्तरीय निर्णय भनेर सूचना गएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरूले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन्। उनले सुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरै जसो निर्णय लागुहुन नसकेको र संशोधन गर्नुपरेको बताइन्।
साथै डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएको भन्दा फरक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएकी छन्। उनले सो ऐन कार्यसमितिले पारित गरेमा आफूलाई मान्य नहुने बताएकी थिइन्।