काठमाडौं। ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई जना चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको थियो।
त्यसक्रममा २ चिनियाँ र १ फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकामध्ये पाँच जना महिला छन्। प्रवक्ता बोगटीका अनुसार उनीहरूले पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए।
चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत् नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको प्रवक्ता बोगटीले बताए।
‘अहिले दुई चिनियाँ, एक फिलिपिनो र ४७ जना नेपालीसहित ५० जनालाई हामीले नियन्त्रणमा लिएका छौँ। उनीहरूलाई म्याद थपका लागि ललितपुर जिल्ला अदालतमा पु¥याउँदैछौँ,’ उनले भने, ‘कल सेन्टरबाट मानिसहरूलाई लोभलालचमा पारी अवैध कारोबार गर्ने र ठगी गर्ने, क्रिप्टो करेन्सीमा लगानी गराउने जस्ता अवैध कारोबार भइरहेको बुझिएको छ। थप अनुसन्धानपछि खुल्छ।’