जोडिनुहोस
  • होमपेज
  • केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी

केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी

काठमाडौं। नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमालेले केन्द्रीय कमिटीको आठौं बैठक पुसभित्रै बस्ने गरी बोलाउन लागेको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

केन्द्रीय कमिटीको बैठक आह्वान गर्न पुस १० र ११ गते सचिवालय बैठक बस्न लागेको उनले जानकारी दिए। ‘पुस १० र ११ गते सचिवालय बैठक बस्ने र त्यसले केन्द्रीय कमिटी बैठक बोलाउनेछ,’ उनले भने।

अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको एमालेको प्रारम्भिक विश्लेषण छ। यद्यपि उसले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ।

स्थानीय तह उपनिर्वाचनमा एमालेले ८ स्थानमात्र जितेको थियो। एमालेले जितेका सात वडामा उपनिर्वाचन भएकामा दैलेखको दुल्लु नगरपालिका–१३ बाहेक कतै पनि जित जोगाउन सकेन। नयाँ पाँच वटा वडामा जित हासिल गरेको थियो। त्यस्तै दैलेखको महाबु गाउँपालिका अध्यक्ष एमालेले जितेको थियो। दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष जितेको थियो।

यसअघि जितेका वडामा जनप्रतिनिधिहरूले नागरिकको चित्त बुझाउने काम गर्न नसक्दा पार्टी पराजित हुन पुगेको एमालेको विश्लेषण छ। एमालेले जितेका ठाउँमा मात्र यस्तो नभएको उपनिर्वाचनको मत परिणाम हेर्दा अरू पार्टीले पनि यसअघि निर्वाचित भएको ठाउँमा जित जोगाउन नसकेको एमालेले बताएको छ।

त्यस्तै एमालेले सहरी क्षेत्रमा पार्टीको मताधार कमजोर हुनुलाई गम्भीर रूपमा लिएको बताएको छ। यसअघि बसेको सचिवालय बैठकले उपनिर्वाचनको परिणामबाट पार्टी गम्भीर बनेको बताएको थियो। एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुखसहित दुई वटा वडा र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा चुनाव जित्ने लक्ष्य राखेको थियो। पार्टी कमिटीबाट पनि सोही रिपोर्टिङ भएको एमालेले बताएको छ।

तर कीर्तिपुरको प्रमुखसहित वडा नम्बर १ र ४ नेपाली कांग्रेसले जित्यो। कीर्तिपुरको प्रमुखको चुनावमा एमाले तेस्रो भयो। काठमाडौं–१६ को वडाध्यक्ष जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले उपस्थिति जनायो। काठमाडौंमा पहिलेभन्दा भोट कम पाएपछि एमाले गम्भीर बनेको हो।

एमालेले मंसिर मसान्तभित्र बाँकी रहेका जिल्लाहरूको अधिवेशन सक्न परिपत्र गरेको थियो। पार्टीले तोकेको समयसीमा सकिँदा पनि अझै पाँच वटा जिल्ला कमिटीको अधिवेशन गर्न बाँकी रहेको एमालेले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार कोशी प्रदेशको मोरङ, मधेस प्रदेशका सिरहा, सप्तरी र धनुषा, सुदूरपश्चिम प्रदेशको अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ।

एमालेमा ७७ वटा भूगोल र ४ वटा विशेष जिल्ला (युवा–विद्यार्थी, मजदुर, पेशागत र उद्योगी व्यवसायी) कमिटी छन्। त्यस्तै एमालेले वार्षिक कार्ययोजनाअनुसार काम भए, नभएकोबारे पनि यो केन्द्रीय कमिटीमा समीक्षा गर्नेछ। यसका अतिरिक्त सरकारको कामको पनि मूल्यांकन हुने एमालेले बताएको छ।

गत असार १७ गते कांग्रेस र एमालेबीच सातबुँदे समझदारी भएले असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको ६ महिना पूरा भएको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका