जोडिनुहोस
  • होमपेज
  • चाडवाडको मुखमा खाने तेलमा अत्यधिक मूल्यवृद्धि

चाडवाडको मुखमा खाने तेलमा अत्यधिक मूल्यवृद्धि

काठमाडौं। नेपालीका ठूला चाडपर्व दसैँतिहार आउनै लाग्दा खाने तेलको मूल्यमा वृद्धि भएको छ। पछिल्लो एक/डेढ साता ​बीचमा खाने तेलको मूल्य  प्रतिलिटर २० रुपैयाँका दरले थोकमै वृद्धि भएको हो।

यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ। उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन। पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ।

विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए। बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भने, ‘मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन। हामीहरू मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनेतर्फ लागेका छौँ।’ अनुगमनबाट अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए।

यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन्। उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन्।

नेपाल खाद्य किराना तथा थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पछिल्लो एक÷डेढ साताको बीचमा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपैयाँले बढेको जानकारी दिए। उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार आफूहरूले पनि वृद्धि गरेको दाबी उनले गरे। उनका अनुसार पछिल्ला केही दिनदेखि सबैखाले खाने तेलको मूल्य प्रति कार्टोन दुई सय रुपैयाँ र प्रतिलिटरमा २० रुपैयाँले बढेर बजारमा आएको छ।

नेपाल खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपैयाँसम्म महँगो भएको छ। खुद्रा व्यापारीका अनुसार थोक व्यापारीले प्रति कार्टोन खानेतेलमा दुई सयदेखि तीन सय रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन्। संघका अनुसार मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रति कार्टोन दुई हजार दुई सय रुपैयाँदेखि दुई हजार चार सय रुपैयाँसम्म र भटमास तेलको मूल्य पनि प्रति कार्टोन दुई हजार तीन सय रुपैयाँ थोकमा पुगेको छ।

तोरीको तेलमा प्रति कार्टोन तीन सय रुपैयाँ बढेर दुई हजार आठ सय रुपैयाँबाट तीन हजार रुपैयाँ पुगेको छ। गएको दुई वर्षयता खाने तेलको मूल्य सस्तो भएको थियो। त्यतिबेला कच्चा सामग्रीको मूल्य घटेका कारण देखाउँदै उद्योगीले मूल्य घटाएका थिए।

उत्पादक उद्योगीको मनपरी

पछिल्लो एक÷डेढ सातामा खानेतेलको मूल्य बिनाकारण प्रतिलिटरमा २० देखि ३० रुपैयाँसम्म बढेको छ। उद्योगले एकाएक मूल्य बढाएर पठाएपछि उत्पादकले खानेतेलमा ‘मनोमानी’ कायम गरेको खुद्रा व्यापार संघको आरोप लगाएको छ।

उद्योगीले खानेतेलको मूल्य आफूखुसी मूल्य निर्धारण गरेका कारण मूल्य ह्वात्तै बढेको संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यको भनाइ छ। पछिल्लो एक वर्षमा सबैभन्दा घटेको खानेतेल अहिले चाडपर्वको मुखमा अन्तर्राष्ट्रिय बजारमा पाम आयल बढेको भन्दै मनलागी खानेतेलको मूल्य बढाएका छन्। त्यसो त पछिल्लो वर्ष खानेतेल भारतमा भन्दा नेपालमा सस्तो थियो। भारतले तेल आयातमा मूल्य अभिवृद्धि र भन्सार महसुल दर उच्च तोकेको थियो।

पछिल्लो पटक भारतले तेल आयातमा महसुल नलिने घोषणा गरेपछि नेपालको तेल भारतमा महँगोमा बिक्री हुन थालेकाले नेपालमा मूल्य बढेको उनीहरुको भनाइ छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका