जोडिनुहोस
  • होमपेज
  • चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि सो प्रसारण लाइन निर्माणको काम दसैँअघि नै सक्ने समयसीमा तय गरिएको प्राधिकरणले जनाएको छ।

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचे चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणका कामहरू नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको काम सम्पन्न भइसकेको छ।

प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ। एउटा टावर जडान कार्य अन्तिम चरणमा छ।

२८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी रहेको प्राधिकरणले बताएको हो। टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिकहरू परिचालित छन्।

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न,  कामदार थपेर कामलाई तीव्रता दिन अनुगमन टोलीले आग्रह गरेको छ।

टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको हो। अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको समेत अनुगमन गरिएको थियो।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ।

दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन्। जसले गर्दा प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दबाब प्राधिकरणलाई छ।

कार्यकारी निर्देशक घिसिङले भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए ।

‘यो लाइन बन्न नसक्दा दुई जलविद्युत् आयोजनाहरूले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्,’ घिसिङले भने, ‘विकट भौगोलिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। बाँकी काम सम्पन्न गर्न सबैले अन्तिम प्रयास गरौँ र दसैँ अगाडि जसरी पनि निर्माण सम्पन्न गरौँ।’

उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तान्न बाँकी छ। मैलुङखोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने प्राधिकरणले जनाएको छ । मैलुङ क्रसिङका लागि लागि सम्पूर्ण तयारी पूरा भएको छ।

प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भू-भागमा निर्माण गरिएको छ। ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो। उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ। आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ।

खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरू ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको हो । २ वटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण भएको छ।

प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ।

कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको प्राधिकरणले जनाएको छ। माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो। रासस

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका