जोडिनुहोस
  • होमपेज
  • जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर

जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर

काठमाडौं। प्रविधि क्षेत्रको प्रतिस्पर्धा बढ्दै जाँदा जापानले विश्वकै पहिलो जेटा श्रेणीको सुपर कम्प्युटर निर्माणको तयारी थालेको छ। सो डिभाइस अहिले संसारमा उपलब्ध सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरभन्दा लगभग १००० गुणा बढी शक्तिशाली हुने दाबी गरिएको छ।

यसका लागि झन्डै ११० अर्ब जापानी एन अर्थात ७५० मिलियन अमेरिकी डलर (करिब ९७ अर्ब रुपैयाँ)भन्दा बढी लाग्ने अनुमान गरिएको छ। आगामी वर्ष अर्थात सन् २०२५ बाट निर्माण शुरू भएर २०३० मा प्रयोगका लागि तयार गर्ने जापानको लक्ष्य छ।

’फुगाकु नेक्स्ट’ नाम दिइएको परियोजना अन्तर्गतको उक्त सुपर कम्प्युटरले जेटाफ्लप्स गतिमा काम गर्न सक्नेछ। उदाहरणको लागि सो डिभाइसले प्रतिसेकेन्ड एक सेक्सटिलियन अर्थात १ को पछाडी २१ वटा शुन्य हुने संख्या बराबरको हिसाबकिताब प्रोसेस गर्न सक्नेछ।

अहिले संसारमा चल्तीमा रहेको अमेरिकाको फ्रन्टियर सुपर कम्प्युटरले १.२ एक्साफ्लप्स अर्थात एक क्विन्टिलियन (१ को पछिल्तिर १८ वटा शुन्य) को गतिमा प्रोसेसिङ गर्न सक्छ । यो सुपर कम्प्युटर सन् २०२२ देखि टेनेसीको ओके रिज ल्याबोरेटरीमा सञ्चालनमा आएको हो।

यस्तै, अमेरिकाको लरेन्स ल्याबमोरे नेशनल ल्याबोरेटरीमा रहेको एल क्याप्टेन नामक एक्साफ्लप्स सुपर कम्प्युटर नासाले निर्माण गरेको हो। यसले अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी विविध विषयमा काम गर्दै आएको छ। जापानको पछिल्लो महत्वाकांक्षी परियोजना रिकेन र फुजित्सु नामक कम्पनीहरूले बनाउनेछन् जसका लागि जापान सरकारले पहिलो वर्षको खर्चस्वरूप ४.२ अर्ब एन अर्थात २९ मिलियन अमेरिकी डलर विनियोजन गरिसकेको छ।

यो सुपर कम्प्युटर बनिसक्दा कम्प्युटिङ प्रविधिको क्षेत्रमा कोशेढुङ्गा हुने अनुमान गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स तथा विभिन्न ठूला र अत्यन्तै जटिल तथ्यांक समावेश हुने वैज्ञानिक शोध अनुसन्धानका लागि यो सुपर कम्प्युटर अत्यन्तै उपयोगी हुने ठानिएको छ। यसले जापानको जलवायु तथा मौसमसम्बन्धी मोड्युलिङ, औषधी र चिकित्सासम्बन्धी अन्वेषण लगायत उन्नत प्रविधिको भौतिक विज्ञान अध्ययन क्षमतालाई अझै प्रभावकारी बनाउनेछ।

उपयोगीताको हिसाबले अत्यन्तै आकर्षक मानिए पनि यो सुपरकम्प्युटरको प्रमुख चुनौती ऊर्जा अर्थात यसको सञ्चालनका लागि आवश्यक विद्युत रहनेछ। झन्डै ५००० टेराबाइट मेमोरी र क्लाउडमा आधारित लाखौंं जीबीको स्टोरेज आवश्यक पर्ने यो सुपर कम्प्युटर पूर्ण क्षमतामा चलाउन झन्डै २१ आणविक प्लान्ट वा २१ गिगावाट ऊर्जा आवश्यक पर्नेछ।

अमेरिकाका दुई ठूला माथि उल्लेखित सुपर कम्प्युटरसँगै हाल फुगाकुकै अर्को सुपर कम्प्युटर चौथो शक्तीशाली मानिन्छ। प्रतिस्पर्धामा अमेरिकापछि तेस्रो मानिने चीनको सनवे ताइहुलाइट भने चीनको उक्सीस्थित राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्रमा रहेको छ।

यस्तै, ठूला सुपर कम्प्युटरको प्रतिस्पर्धामा फिनल्यान्डको एलयूएमआई भने शतप्रतिशत नवीकरणीय ऊर्जाबाट सञ्चालित छ। आर्टिफिसियल इन्टेलिजेन्स, अन्तरिक्ष र वैज्ञानिक अनुसन्धानको दौड बढ्दै जाँदा प्रविधिका उन्नत देशहरू आफ्नो प्रभुत्व देखाउन यस्ता डिभाइस निर्माणमा समेत अघि सरेका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका