झापा। कोशी प्रदेशमा डेङ्गुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्। यस अवधिमा डेङ्गु सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालयका डेङ्गु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन्।
झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ। कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गुका सङ्क्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेङ्गुको एकजना पनि सङ्क्रमित पाइएको छैन।
स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गुको सङ्क्रमण भएको छ। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गु सङ्क्रमण भएको पाइएको छ।
गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गु सङ्क्रमण भइसकेको थियो। झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ।