काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
सोमवार मन्त्रालयमा नेकपा एमालेको शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको बताए ।
‘मलाई विश्वास छ, तपाईंहरुको त्यसमा पूरा सहयोग रहनेछ । अहिले सरकार नेपाली काँग्रेस र नेकपा एमालेकै हो,’उनले भने,‘भनेपछि हामीले जनतालाई सन्तोष पार्न के गर्नुपर्छ, त्यसमा हामी लाग्नुपर्छ ।’
ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढी जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको स्पष्ट पारे । नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखेको बताए ।
उनले भने– ‘ऐनहरुको अभावको कारणले गर्दा, पुराना ऐनहरुलाई समय बदलिसकेको छ, पुरानै जमानाको ऐनले काम दिँदैन । त्यो कारणले गर्दा म यहाँ आइसकेपछि सबैभन्दा बढी जोड दिएको विकास निर्माणका कामहरु त भइराख्छ तर नीति बनाउने कुरामा काम गरेको तर कार्यान्वयनमा जान नसकेको अवस्था छ । मन्त्रीपरिषद्मा लगेर, संसदमा लगेर ऐन बनाउने कुरामा मैले जोड दिइरहेको छु ।’
उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताए ।
उनले अत्यावश्यक भौतिक पूर्वाधारहरु गाउँगाउँमै पु¥याउनुपर्नेमा सरकार लागिरहेको बताए । नेकपा एमालेको शहरी विकास विभागले शहर व्यवस्थ्ति बनाउने सुझावसहितको ज्ञापन पत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।