जोडिनुहोस
  • होमपेज
  • नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द !

नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द !

काठमाडौं। चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कामदारको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ। कारन्यूजचाइना डकटकमले प्रकाशन गरेको उक्त समाचार अनुसार नेटा ब्रान्ड होजोन अटोले उत्पादन गर्दै आएको छ। गाडी बिक्री घटेपछि होजोनको झेइजियाङस्थित कारखानाबाट उत्पादन बन्द गरी कर्मचारीको तलब कटौती गएिको हो।

नेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ योङले सामाजिक सञ्जाल वेइबो नेटा ब्रान्ड सम्बन्धी ब्लग र टिकटकमा भिडियो पोस्ट गर्न बन्द गरेको समाचारमा उल्लेख छ।

नेटा सन् २०१८ मा स्थापना भएको थियो। यो सुरुवातमा प्रमुख ईभी निर्माताभित्र पर्थ्यो। यसले सस्तो मूल्यका ईभी नेटा भी उत्पादन गर्दै आएको थियो। यही रणनीति अनुसार अगाडि बढेको नेटाले सन् २०२२ मा १ लाख ५० हजार युनिटत उत्पादन गरेर ली अटो, निओ र एक्सपेङ जस्ता ईभी निर्मातालाई उछिनेको थियो।

त्यही बेला नेटाले महँगो वर्गमा जाने निर्णय गरेको थियो। त्यसपछि उसले नेटा आया (नेटा भी टु), नेटा एक्स, नेटा जीटी, नेटा एल, नेटा एस र नेटा एस हन्टिङ मोडेल सार्वजनिक गरेको थियो।

नेटालाई चीनमा पीडा
नेटालाई पछिल्लो पटक चिनियाँ बजारमा समस्या परिरहेको छ। महँगो वर्गका ईभी बिक्रीमा नेटालाई समस्या परिरहेको यसको घट्दो बिक्री दरले देखाएको छ।

सन् २०२४ जनवरीदेखि सेप्टेम्बरमा नेटाले ५३ हजार ८ सय ५३ युनिट ईभी आपूर्ति गरेको छ। यो उसको वार्षिक बिक्री लक्ष्यको ३० प्रतिशतभन्दा कम हो।

समस्यामा रहेको नेटाले आफ्नो अक्टोबर महिनाको बिक्री संख्या भने सार्वजनिक गरेको छैन। यसअघि नेटाले अघिल्लो महिनाको बिक्री संख्या अर्को महिनाको पहिलो दिनमै सार्वजनिक गर्ने घोषणा गरेको थियो।

अटो उद्योगका जानकारका अनुसार नेटाले अक्टोबरमा ४ हजार ५ सय युनिटमात्र ईभी आपूर्ति गरेको छ। जुन, गत वर्ष सोही अवधिको तुलनामा ४० प्रतिशत कम हो। नेटा एस हन्टिङ मोडेलमा एसेसरिज नहुँदा कम्पनीले आपूर्ति गर्न सकेको थिएन। अन्य मोडेलको बिक्री पनि न्यून रहेको छ।

चीनको डुन्यूजले नेटाको झेइजियाङको टोङजियाङस्थित कारखाना आधा महिनाका लागि बन्द गरिएको समाचार लेखेको छ। यो नेटाको मुख्य कारखाना हो, जसले वार्षिक २ लाख युनिट ईभी उत्पादन गर्छ। यसले मुख्यगरी नेटा एल क्रसओभर मोडेल उत्पादन गर्दै आएको छ।

यो वर्ष नेटाले कामदारको तलब कटौती गरेको छ। अक्टोबरमा नेटाका केही कामदारले अघिल्लो महिनाको तलब समयमै दिन कम्पनी असफल भएको दाबी गरेका थिए।

नेटाका उच्च तहका कामदारको तलब अधिकतम ३० प्रतिशतसम्म कटौती गरिएको जनाइएको छ। सामाजिक सञ्जालहरूमा व्यापक सक्रिय रहने नेटा सीईओ योङ १४ अक्टोबरदेखि कतै पनि देखिएका छैनन्।

नेटाको मातृ कम्पनी होजोन अटोले २०२१ मा ४ अर्ब ८४ करोड युआन (६७ करोड ६० लाख अमेरिकी डलर) खुद नोक्सान बेहोरेको थियो। २०२२ मा ६ अर्ब ६७ करोड युआन (९३ करोड डलर) र २०२३ मा ६ अर्ब ८७ करोड युआन (९६ करोड डलर) बराबर खुद नोक्सान बेहेरेको होजोन अटोको नगद कोषमा २ अर्ब ८३ करोड युआन (३९ करोड ५० लाख डलर) मात्र छ।

गत जुनमा होजोन अटोले हङकङ स्टक एक्सचेन्जमा सूचीकृत हुन आवेदन दिएको थियो। पछिल्लो पटक नेटा मध्य एसिया, दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र दक्षिण अफ्रिकामा प्रवेश गरेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका