काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो। त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो।
तर नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ।
कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए।
सोही पत्रअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेको सूचना जारी गरेको हो। सूचनामा केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरे तथा सदस्यहरु अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा र प्रा चिरञ्जीवी खनालको हस्ताक्षर छ।