काठमाडौं। बंगालको खाडी उत्पन्न जलवाष्पयुक्त हावा र न्यून चापीय प्रणालीका कारण भएको बदलीले भारी वर्षा हुँदा देशका मुख्य विमानस्थलहरूबाट उडान हुन सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, भारी वर्षाका कारण भद्रपुर, विराटनगर, सिमरा, भरतपुर, पोखरा,सुर्खेतमा शुक्रबारका लागि तय नियमित उडान रद्द भएका छन्।
त्यस्तै मुख्य पर्यटकीय क्षेत्र सगरमाथा प्रवेश गर्ने लुक्लामा पनि उडान रद्द भएका छन्। बुद्ध एअरले मौसममा बदली भएका कारण शुक्रबारका सबै पर्वतीय उडान रद्द गरेको जनाएको छ।
‘जनकपुर, नेपालगञ्ज र धनगढीमा उडान भए तर भारी वर्षाका कारण यी विमानस्थलमा पनि उडान प्रभावित भएका छन्,’ प्रवक्ता शेर्पाले भने।
उनका अनुसार, काठमाडौं विमानस्थलको भिजिबिलिटी (दृश्यता) ३ किलोमिटर हाराहारीमा झरेको छ। हेरेर हुने उडानका लागि ५ किलोमिटर भिजिवबिलिटी आवश्यक पर्छ।
भारी वर्षाले अन्तर्राष्ट्रिय उडानलाई भने असर नपु¥याएको उनले बताए। शुक्रबार ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका रहेको छ। आन्तरिकतर्फ दुईतर्फी गरेर ३ सय वटा उडान गर्न ७ वटा आन्तरिक वायुसेवाको तालिका थियो। बिहान ६ बजेदेखि राति १० बजेसम्म आन्तरिक वायुसेवाले सुगम रुटमा उडान गर्छन्।