काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधका कारण आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो सवा ३ बजेका लागि सारेका थिए। तर, संसद् सञ्चालनको वातावरण नबनेपछि अपरान्ह ४ बजे बैठक स्थगित भएको हो।
संघीय संसद सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ। संसद्मा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि उक्त शब्द असंसदीय रहेको भन्दै माओवादीले रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएको छ।
भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले यस्तो शब्द प्रयोग गरेका थिए। त्यही दिन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै ‘हिंसा’ शब्द असंसदीय रहेको दाबी गर्दै रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए।
भट्टराईले सो शब्द प्रयोग गरेका सम्बन्धमा सभामुख घिमिरेले छानबिनपछि भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा ‘माओवादी हिंसा’ भन्ने शब्द असंसदीय नरहेको ठहर भएको भन्दै रुलिङ गरेका थिए। त्यसयता माओवादीले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ।
आइतबार बोलाइएको संसद् बैठकअघि संसद् सञ्चालनको वातावरण बनाउन सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका थिए। तर सहमति जुट्न सकेन। लगत्तै माओवादीको अनौपचारिक रुपमा बसेको संसदीय दलको बैठकले सभामुखले गरेको रुलिङ फिर्ता नभएसम्म संसद्मा अवरोध कायमै राख्ने निर्णय गरेको थियो।
माओवादीको अवरोधपछि सभामुख घिमिरेले उक्त विषयमा छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए। आइतबारको छलफलमा सभामुख घिमिरेले आफूले संसद् सचिवालयको अध्ययनसहितको राय, संविधान, कानुन, अभ्यास समेतका आधारमा निर्णय लिएको बताएका थिए। सभामुखको रुलिङ मानेर संसद्मा अवरोध नगर्न आग्रह गरेका थिए।
माओवादी केन्द्रले पार्टीको निर्णयबाट पछि हट्न नसकिने भन्दै अडान लिँदै आएको छ। दुवै पक्षको अडानका कारण संसद् बैठक प्रभावित भएको हो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने सभामुखको रुलिङका विरुद्धमा जाने छुट सांसदहरूलाई नरहेको बताएका छन्।
सभामुख घिमिरेसँगको प्रमुख सचेतकहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादी केन्द्रका सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसकेको विषयलाई लिएर संसद् अवरुद्ध गर्ने भनिरहेकामा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताए।
माओवादी पार्टीले भने सभामुख घिमिरे एकपक्षीय बनेको भन्दै त्यस्तो नगर्न आग्रह गर्दै आएको छन्।