काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घण्टा भेट भएको छ। ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो।
भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन्। उनले भेट फलदायी भएको उल्लेख गरेका छन्।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरू सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए।
परराष्ट्रका प्रवक्ता अमृत राई र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए।
भेटमा दुई देशका बीचमा देखिएका कतिपय अस्पष्टतालाई कूटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ। यसअघि नै बनेको ईपीजी नै सक्रिय गराउने वा नयाँ संयन्त्र बनाउने भन्नेबारे स्पष्ट हुन सकेको छैन।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले दुवै देशका प्रधानमन्त्रीबीच राम्रो भेटवार्ता भएको बताए।ओली चौथोपल्ट प्रधानमन्त्री बनेपछि भारतीय समकक्षी मोदीसँग यो पहिलो भेटवार्ता हो।
प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन्।