
काठमाडौं। बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ। यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ। वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ। कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ।असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ। त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा विनोद पोखरेल यो वर्षाले बुधबारदेखि कोशीदेखि गण्डकीसम्म प्रभाव पर्नसक्ने बताउँछन्। उनका अनुसार कोशी प्रदेशसहित पूर्वी नेपालमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा भने पानी पर्दै रोकिँदै गर्ने सम्भावना रहेको उनले बताए।
उनका अनुसार यसपटक मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना छ। स्थानीय वायुको समेत प्रभावले केही स्थानमा भारी वर्षा पनि गराउने सम्भावना रहेको उनले बताए। यसैगरी हावापानीका अध्येयता एवम् विपद्विद डा धर्मराज उप्रेतीले बुधबार यो प्रणालीको प्रभाव बढी देखिने बताए। उनका अनुसार काठमाडौं उपत्यकामा आजै अपरान्हपछि यसको असर देखिन सुरु हुने छ। तर सबैभन्दा बढी असर बुधबारको दिन पर्ने छ।
उनले भने, ‘अघिल्लोपटक परेको भारी वर्षाले जमिन कमजोर भएकाले यसपटक हल्का पानी पर्दा पनि पहिरो झर्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।’
मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे चेतावनी
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ।
यसैगरी बुधबार दिउँसो कोशी र बाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। बुधबार राति भने कोशी प्रदेशका केही स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।
त्यसैले महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ।
त्यसैले सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।