
काठमाडौं। आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेससहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
कोशी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन्। उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ। अत्यधिक वर्षा गराउने बादल कोशी, बागमती र गण्डकी प्रदेशमा केन्द्रित थियो। हाल यो प्रणाली कमजोर हुँदै पूर्वतिर सरिरहेको छ।
शनिबार काठमाडौंसहित १४ जिल्लामा विषम वर्षा: २५ ठाउँको रेकर्ड ब्रेक
त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा अहिले घाम लागिरहेको छ। आज (सोमबार) दिउँसोसम्म घाम लागे पनि अपरान्हपछि भने आंशिक बादल लाग्ने सम्भावना छ।
मंगलबार अपरान्हदेखि कोशी प्रदेश लगायतका पूर्वी भूभागका जिल्लाहरुमा बादल लागेर हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ।