काठमाडौं। भारतमा किसान आन्दोलन पुनः चर्किने संकेत देखा परेको छ । आन्दोलनकारी किसानले आज दिउँसोदेखि ’दिल्ली चलो’ मार्च शुरु गरेपछि पंजाब र हरियाणाको सीमा शम्भु बोर्डरमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
हरियाणा प्रहरीले १ सय १ जना किसानलाई मात्र दिल्लीतर्फ जान अनुमति दिने जनाएको छ । तर ति किसानको नामको विषयलाई लिएर विवाद देखिएको छ। हरियाणा प्रहरीले आफुलाई दिइएको सूचीमा नाम भएका किसानको पहिचान गरेपछि मात्र अघि बढन दिने बताएको तर आन्दोलनकारी किसानले भने आफूहरुले प्रहरीलाई नामको त्यस्तो कुनै सूचि नदिएको बताएका छन् ।
यसअघि दुई दिनअघि पनि किसानको जत्था दिल्लीतर्फ लाग्दा शम्भु बोर्डरमा हरियाणा प्रहरीले उनीहरुलाई अघि बढन दिएको थिएन । त्यतिबेला किसानहरुले केन्द्रबाट वार्ताकालागि कुनै प्रस्ताव आए त्यसको प्रतिक्षा गर्ने भन्दै दुई दिनकालागि मार्च स्थगित गरेका थिए ।
आफ्ना विभिन्न माग राख्दै किसानहरुले विगत ३ सय दिनदेखि शम्भु बोर्डरमा विरोध प्रदर्शन गर्दै आएका छन् । किसानहरुले उत्पादित अन्न बालीको न्यूनतम समर्थन मूल्य एमएसपीको कानुन बनाएरै वैधानिक प्रत्याभूति गरिनु पर्ने, २०१३ को भूमी अधिकरण कानून पुनःस्थापित गरिनु पर्ने लगायतका माग राख्दै आएका छन् । केन्द्र सरकारले भने पाँच वर्षसम्म न्यूनतम समर्थन मूल्यमा किसानले उत्पादन गरेको दाल, गहुँ र कपास खरीद गर्ने प्रस्ताव राख्दै आएकोछ ।
यसअघि गत सोमवार उत्तर प्रदेशका २० जिल्लाका सयौं किसान दिल्ली प्रस्थान गर्ने योजनाका नोएडामा भेला भएका थिए । तर पछि जिल्ला प्रशासन, नोएडा प्राधिकरण तथा यमुना प्राधिकरणका अधिकारी र किसान नेताहरुबीचको वार्तापछि सात दिनकालागि मार्च स्थगित गर्ने सहमति भएको थियो । मार्च स्थगित गरेका किसानले नोएडाको दलित प्रेरणास्थलमा आंशिक धर्ना जारी राखेका छन् ।
संसदको शीतकालीन सत्र जारी रहेकाबेला आफ्ना माग पुरा गराउन संसद भवनअगाडी धर्ना दिने भन्दै किसानहरु दिल्लीतर्फ मार्च गर्न चाहेका हुन् ।