जोडिनुहोस
  • होमपेज
  • मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयको अवरोध

मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयको अवरोध

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका स्थानीय बासिन्दाहरूले हेलिकप्टर उडानमा अवरोध गरेका छन्। निषेधित क्षेत्र हटाउनुपर्नेलगायत मागसहित उनीहरूले हेलिकप्टर उडानमा रोक लगाएका छन्।

सामागाउँमै मनास्लु हिमाल छ। मनास्लु आरोहणका लागि तीन सय जनाभन्दा धेरै आरोही सामागाउँ हुँदै मनास्लु बेस क्याम्प पुगेका थिए। फर्कन चाहने पर्यटक हेलिकप्टर उडानमा स्थानीयको अवरोधका कारण सामागाउँमै रोकिनुपर्ने अवस्था छ।

चुमनुब्री गाउँपालिका १ का अध्यक्ष कर्मा छेवाङ लामाले बाध्यताले गर्दा हेलिकप्टर उडानमा अवरोध गर्नुपरेको बताए। ‘निषेधित क्षेत्रकै कारण स्थानीय बासिन्दालाई चाहिएका बेला तत्काल हेलिकप्टर मगाउँदा आउँदैन, धेरै बिरामीले उपचार नपाएर मर्नुपर्‍यो,’ उनले भने, ‘गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलाई लामो समयदेखि हेलिकप्टर उडान सहज बनाउन माग गरे पनि बेवास्ता गर्दा यो अवस्था आइपर्‍यो।’

उनले बुधबार हेलिकप्टर उडानमा अवरोध गरिएको बताए। बिहीबार पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ। सामागाउँमा रहेका हेलिप्याडमा ढुंगा राखेर स्थानीयले अवरोध गरेका छन्। ‘हाम्रो माग पूरा नभएसम्म हामी हेलिकप्टर उडान गर्न दिँदैनौँ, स्थानीयलाई धेरै नै समस्या भएको छ। निषेधित क्षेत्र भएकै कारण हामीलाई चाहिएको बेला तुरुन्तै हेलिकप्टर मगाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि छन् बल प्रयोग गरे भने स्थानीय पनि त्यही हिसाबले अघि बढ्नुपर्ने हुन्छ।’

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले संसद्मा पटकपटक उत्तरी गोरखामा हेलिकप्टर उडान सहज बनाउन सरकारसँग माग गरेका थिए। घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गर्नुपर्दा दुई, तीन दिनसम्म लगाउने गरेको भन्दै सामागाउँबासीले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

हालै सामागाउँमा भएको आमभेलाले पनि हेलिकप्टर उडान सहज बनाउन सरकारलाई पाँच दिने अल्टिमेटम दिने निर्णय गरेको थियो। मनास्लु क्षेत्र निषेधित क्षेत्र भएकोले जिल्ला प्रशासन, नेपाल नागरिक उड्डयन प्राधिकरण र गृह मन्त्रालयबाट अनुमति लिएपछि मात्रै हेलिकप्टर चार्टर गर्न सकिन्छ। यो प्रक्रिया झन्झटिलो भएको र घाइते तथा बिरामीलाई हेलिकप्टर उडान प्रक्रिया मिलाउँदा मिलाउँदै मृत्यु हुने गरेको उनीहरूको भनाइ छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामागाउँबासीले आमभेला गरेर गरेको निर्णय चुमनुब्री गाउँपालिकामार्फत् जिल्ला प्रशासनलाई प्राप्त भएको जानकारी दिए।

‘मनास्लु क्षेत्र हेलिकप्टर उडानमा निषेधित क्षेत्र हो, हेलिकप्टर चार्टरका लागि परमिट लिन धेरै निकायमा धाउनुपर्दा समस्या भयो भन्ने स्थानीय बासिन्दाको भनाइ छ,’ उनले सेतोपाटीसँग भने, ‘समस्या समाधानका लागि पहल भइरहेको छ। आमभेलाको निर्णयसहितका विवरण उल्लेख गरेर हामीले गृह मन्त्रालयलाई जानकारी गराइसकेका छौं।’

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका