काठमाडौं। सरकारले बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ। त्यस्तै बेपत्ता रही १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णयसमेत सरकारले गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए। बैठकले बाढीपहिरोमा मृत्यु भएकाको सम्झनामा ३ दिन राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय पनि गरेको छ । उक्त अवधिमा सरकारी कार्यालय र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।
गृहमन्त्री रमेश लेखकले समग्र स्थितिबारे मन्त्रिपरिषद्मा ‘ब्रिफिङ’ गरेका थिए। प्रधानमन्त्री ओलीले सबै राजमार्गलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सबै कदम उठाउन र आवश्यक पर्ने कामको प्रतिवेदन ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको एक मन्त्रीले बताए। सरकारले मङ्गलबार अपरान्ह पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्को निर्णय, सरकारका भावी कार्ययोजना तथा राहत कार्यक्रमको घोषणा गर्नेछ।
प्रधानमन्त्रीले आवश्यक राहत, उद्धार र क्षतिसम्बन्धी सबै विवरण सङ्कलन गर्न गृह, स्वास्थ्य, पूर्वाधार, खानेपानी, ऊर्जा मन्त्रीलाई निर्देश गरेका छन्। क्षतिको सबै विवरण आज अपरान्हसम्म बुझाउन भनिएको ती मन्त्रीले बताए। त्यसै अनुसार तत्काल राजमार्ग, खानेपानी, विद्युत्को क्षेत्रमा गरिहाल्नुपर्ने पुनर्निर्माणको कामको योजना घोषणा गरिनेछ।
बेपत्ताको खोजी तथा उपभोग सामग्री आपूर्तिको कामलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्रीले निर्देश गरेका छन्। आवास गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न तथा पुनर्निमाणका लागि क्षतिअनुसारको कानुनले तोकेको राहत दिने निर्णयसमेत गरिएको छ। बाढीपहिरोपछिको स्थितिमा महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालय सक्रिय भएर लाग्न तथा कृषि बिमाको रकम प्रदान गर्नेसम्बन्धी निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
त्यस्तै, बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको मन्त्रीले बताए ।