सप्तरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका—१ स्थित भारदहको कङ्कालिनी मन्दिर अगाडि आइतबार माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को माइक्रोबसले सडक छेउ बच्चाका साथमा उभिरहेकी स्थानीय ५० वर्षीय अनितादेवी अधिकारी र उनकै १० महिनाको नाति आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।
उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।
ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाति, बायाँ खुट्टालगायतका भागमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।
प्रहरीले माइक्रोबस चालक सप्तरी छिन्नमस्ता गाउँपालिका–७ का ३२ वर्षीय अब्दुल सतारलाई नियन्त्रणमा लिएको छ। उक्त घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन्।