काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न नेतृत्वपङ्क्तिसँग माग गरेका छन्।
प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीले गत भदौ २५ गते प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’मा भारतले गरेको दाबी पुग्ने र यी भूमि उसैको भएको आशयको अभिव्यक्ति दिएका थिए। यस विषयमा उनीसँग पार्टीले स्पष्टीकरण पनि लिइसकेको छ।
तर पार्टीलाई बुझाएको लिखित स्पष्टीकरणमा उपमहासचिव चौधरीले आफूले त्यस्तो नबोलेको जिकिर गरेका छन् भने एकीकृत समाजवादीले ‘जिब्रो चिप्लिएको’ भनी उनलाई थप कारबाही नगर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ।
यसैबीच पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनालले भने लामो वक्तव्य जारी गर्दै उनलाई पार्टीबाटै निकाल्नुपर्ने माग नेतृत्वसँग गरेका हुन्।
‘यो त सोह्रैआना राष्ट्रियताविरोधी अभिव्यक्ति हो। यो देशद्रोही अभिव्यक्ति पनि हो। यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो। हाम्रो पार्टीजस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो। यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन, सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र शुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ। आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न। अझ हामै पार्टीको उपमहासचिव र बहालवाला सांसदबाट यस्ता अभिव्यक्ति आउनु गम्भीरभन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ,’ खनालले वक्तव्यमा भनेका छन्, ‘उक्त उपमहासचिवको उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पङ्क्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ। आम कार्यकर्ता, समर्थक र शुभेच्छकहरूमा समेत तीखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ। यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्त्वहरूबाट हाम्रोजस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु।’