जोडिनुहोस
  • होमपेज
  • वरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजको आपत्ति

वरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजको आपत्ति

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायपालिकामाथि अनास्था फैलाउने अभिव्यक्ति दिएको भन्दै न्यायाधीश समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै काठमाडौं जिल्ला अदालत अगाडि गतसाता त्रिपाठीमाथि भएको आक्रमणप्रति पनि न्यायाधीश समाजले खेद प्रकट गरेको छ ।

गत माघ २ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ठगी गरी संगठित अपराधको मुद्दामा थुनछेक बहस पश्चात अदालत हाता बाहिर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले हातपात र दुव्र्यवहार गरेका थिए ।

उक्त घटनापछि वरिष्ठ अधिवक्ता त्रिपाठीले विभिन्न सञ्चारमाध्यममा न्यायाधीशहरुको समेत आलोचना गरेपछि न्यायाधीश समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘न्याय सम्पादन प्रकृयाको अभिन्न अंगका रुपमा रहेको नेपाल वार र त्यसका कुनै पनि सदस्य माथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो’ न्यायाधीश समाजका महासचिव टेकनारायण कुँवरद्वारा विहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन काठमाडौं जिल्ला अदालत परिसर बाहिर वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानूनी कारवाही गर्नको लागि माग गर्दछ ।’

तर, उक्त घटनापछि सञ्चार माध्यमहरुमा त्रिपाठीले दिएको अभिव्यक्तिलाई लिएर न्यायाधीश समाजले आपत्ति जनाएको छ ।

महासचिव कुँवरको विज्ञप्तिमा भनिएको छ, ‘सो घटना पश्चात वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीबाट विभिन्न सञ्चार माध्यममा सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा बदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिका प्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वाता दिएको कुरा युट्युब च्यानलहरुमा प्रसारण भएको पाइएकोले सो सम्बन्धमा समेत यस न्यायाधीश समाज, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कुनै न्यायाधीशविशेषबाट कानून बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारबाही कानून विपरीत भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानून वमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुने विद्दप्तिमा उल्लेख छ ।

वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ

‘तर त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफुले वहस गरे बमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरीत हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चार माध्यममा अन्तरर्वाता दिएको देखियो’ न्यायाधीश कुँवरद्वारा जारी विद्दप्तिमा भनिएको छ, ‘बरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ ।’

हेर्नुहोस् न्यायाधीश समाजको विज्ञप्ति–

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका