जोडिनुहोस
  • होमपेज
  • वामदेवको प्रस्तावः नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ

वामदेवको प्रस्तावः नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरू भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सिमानामा पर्खाल लगाउनुपर्ने बताए । उनले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेर काम गरिरहेका आरोप लगाए । उनले खुला सिमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

उनले भने – ‘यो सरकारको असक्षमता हो । यहाँ सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेर यो सबै काम गरिराखेका छन् । र कहिल्यै पनि समाधान नहुने गरी समितिमा विषय पठाइदिन्छन् । समितिमा यसरी आउने हो विषय ? विधेयक बनेर आउनुपर्छ । नेपाल र भारतका बिचमा सिमाना खुल्ला छ । हाम्रो देशका ठूल्ठूला पार्टीहरू ५०÷६० वर्षदेखि बन्द सिमाना कायम गर भन्दै आएका छन् । भारततिरबाट नेपालतिर पसेर कयौँ मानिस मारिएका छन् । नेपाली जनता मारिएका छन् । त्यो खुला सिमाना प्रयोग गरेर काठमाडौँ रहेका मानिसलाई पक्रेर भारतले लिएर जान्छ । हामी पछि थाहा पाउँछौँ । यस्तै हुन्छ स्वतन्त्र देशको अवस्था । त्यहाँ सुधार गर्न किन कोसिस हुँदैन ? त्यस सम्बन्धमा मेरो गम्भीर आरोप छ नेपाल सरकारलाई, उसले हेर्नुपर्छ । उसले गर्नुपर्छ । यदि नयाँ कुनै व्यवस्था गर्ने हो भने छलफल गर्न हामीलाई पठाउनुपर्छ । नेपालमा उत्पादन भएको वस्तु भन्सार नतिरीकन खुला सिमानाबाट भारततिर गएको छ । भन्सारबाट मात्रै जाने व्यवस्था गरौँ । पर्खाल लगाऔँ । नेपाल भारतको बिचमा तार लगाऔँ । खुला सिमाना बन्द गर । मेरो आजको प्रस्ताव यही हुन्छ । नेपाल–भारत सिमाना बन्द गर । भिसा प्रणाली लागू गर ।’

राष्ट्रिय सभा गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताए । खुला सिमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका