जोडिनुहोस
  • होमपेज
  • विद्रोहीले कब्जा गरेको सिरियामा ईयूले पुनः दूतावास खोल्ने

विद्रोहीले कब्जा गरेको सिरियामा ईयूले पुनः दूतावास खोल्ने

एजेन्सी। यूरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुखले तानाशाही शासक बशर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्ता गर्दै दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने बताएका छन्‌ ।

‘यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ’, ईयूका काजा कल्लासले यूरोपेली संसद्लाई भने ।

सिरियाका लागि ईयूका शीर्ष कूटनीतिज्ञले सोमबार दमास्कसको भ्रमण गरे । यसलाई कालासले ‘नयाँ नेतृत्व र अन्य विभिन्न समूह, नागरिक समाजसँग पनि रचनात्मक पहिलो सम्पर्क’ भने ।

यूरोपेली राष्ट्रहरू अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै असद परिवारको पाँच दशक लामो प्रभुत्वको अन्त्यपछि सिरियामा प्रभावका लागि सङ्घर्ष गरिरहेका छन् ।

तर तिनीहरू इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा नयाँ अधिकारीहरूबाट सावधान छन् । एचटिएस अल–कायदामा निहित थियो र केही पश्चिमी सरकारद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा सूचीबद्ध गरिएको छ । ‘हामी सिरियामा खालीपन छोड्न सक्दैनौँ, ईयू यहाँ उपस्थित हुनुपर्छ’, कालासले भने ।

ईयूले सिरियाका लागि समर्थन बढाउन तयार रहेको, तर नयाँ नेताहरूले सम्मान गर्नुपर्ने सर्तहरू राखेको छ । ती शर्तहरूमा अल्पसङ्ख्यकहरूको संरक्षण, समावेशी सङ्क्रमणको निगरानी र उग्रवादको बहिष्कार समावेश छन् ।

कालासले सोमबार ईयूले सिरियाको भविष्यमा मस्कोको कुनै स्थान नभएको भन्दै देशमा रूसी सैन्य आधारहरूको उपस्थितिलाई लिएर अधिकार प्राप्त गर्नेहरूलाई पनि दबाब दिने बताए ।

रूसले गृहयुद्धका बेला आफ्ना सैनिकहरूद्वारा असदलाई समर्थन गर्यो र अब उनको निष्कासनपछि सुरक्षित आश्रय प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका