उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन्। मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। प्रहरी महानिरीक्षक विरुद्धको अभिव्यक्तिपछि गुरुङको आलोचना भइरहेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। भण्डारीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु।’
उनले शान्ति सुरक्षामा भविष्यमा तलमाथि हुन गएमा त्यसको जिम्मेवार स्वयः सरकार र प्रधानमन्त्री हुने समेत भण्डारीले उल्लेख गरेका छन्। साथै उनले समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन्।
पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि आज संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको छ। मञ्चले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौँ।’
साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।
हेर्नुहोस् पूर्वप्रहरी संगठन प्रमुख मञ्चको विज्ञप्ति–