जोडिनुहोस
  • होमपेज
  • सरकार अध्यादेशबाट शासन गर्ने उल्टो बाटो हिँड्योः प्रचण्ड

सरकार अध्यादेशबाट शासन गर्ने उल्टो बाटो हिँड्योः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सदन फेस गर्न नसकेको बताएका छन्।

दुई तिहाइ बहुमत छ भन्ने सरकारले सजिलै सदनबाट विधेयक पास गर्न सक्ने भए पनि अध्यादेश ल्याउनुले नियत नै खराब छ भन्ने देखाएको उनले बताए।

‘विपक्षी दलहरूका तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएर सदन बोलाउन पनि भनेका छौं तर सरकार सदन बोलाउन ढिलो गर्ने र अध्यादेश ल्याएर शासन गर्ने उल्टो बाटो हिँडिरहेको छ, त्यसप्रति पनि आमविरोध भइरहेको छ,’ सिन्धुपाल्चोकमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘दुई तिहाइ बहुमत छ भन्नेले सजिलै सदनबाट विधेयक पास गर्नुपर्नेमा किन अध्यादेशको बाटो हिँड्यो?’

दुई तिहाइ बहुमत भए पनि अहिलेको सरकारले सदन फेस गर्ने नैतिक साहस नदेखाएको उनले बताए। ‘अध्यादेश ल्याएर शासन गर्ने प्रक्रिया बढाएको यो सरकार सबैभन्दा कमजोर, निरीह, गैरजिम्मेवार र अलोकतान्त्रिक सरकार हो,’ उनले भने, ‘सदन छिटो सुरू होस् र लोकतान्त्रिक प्रक्रियाबाट नै अघि बढोस् भन्ने हामी चाहन्छौं।’

सरकारले गत शुक्रबार ५ वटा अध्यादेश ल्याउने निर्णय गरेकोमा सोमबार राष्ट्रपतिले चार अध्यादेश जारी गरेका छन् भने भूमिसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा राखेका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका