काठमाडौं। संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ।
समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो।प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्नेछ।
उजुरी समितिको सचिवालयमा वा सिधै इमेल parl_hearing@parliament.gov.np मा र जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ।
उजुरी दिने व्यक्तिले नाम, थर, ठेगाना र फोन नम्बर उल्लेख गर्नुपर्नेछ। चाहेको खण्डमा समितिले परिचय गोप्य राख्नेछ। निरौला र पाण्डेय गत शुक्रबार (असोज ११) मा न्याय परिषदबाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए।
निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन्। निरौला सर्वोच्च अदालतका तेस्रा मुख्य रजिष्ट्रार हुन्। उनी मुख्य रजिष्ट्रारबाटै मुख्य न्यायाधीशमा नियुक्त भएका थिए।
पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन्। उनी गत मङ्सिरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए।