जोडिनुहोस

समाचार

सुरु भयो पदयात्राको याम

  • Sanchar NP
  • सोमवार, जेष्ठ ६, २०८२
सुरु भयो पदयात्राको याम

कास्की। शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ। असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ। पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन्।

ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिए। पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि यस क्षेत्रमा भित्रने पर्यटकको सहज आउजाउमा बाधा पुर्याइरहेको अध्यक्ष आचार्यको भनाइ छ।

पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग र हवाईयात्रालाई सुरक्षित एवं व्यवस्थित बनाउनुपर्ने उनले बताए। कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका १५ सय ७२ र अन्य मुलुकका एक हजार पाँच जना रहेका छन्।

गत भदौमा दक्षिण एसियाली मुलुकका सात हजार तीन सय ६९ र अन्य मुलुकका पाँच हजार नौ सय एक गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। ‘एक्याप’ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ।

आयोजना प्रमुख डा रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउने अभियान सञ्चालन गरिएकाले त्यहाँ जाने पर्यटकलाई सकेसम्म बोतल र प्लाष्टिकजन्य सामग्री नलैजान आग्रह गरे। गत आवमा अन्नपूर्ण क्षेत्रको भ्रमणमा निस्केका २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको डा कडरियाले जानकारी दिए।

तीमध्ये छ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक थिए। लामो दुरीको पदयात्रामा निक्कँदा समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्ने उनको भनाइ छ।

पदयात्राका लागि प्रख्यात म्याग्दीको घोडेपानीका पर्यटन व्यवसायी जुली पुनले केही दिनयता मौसम खुलेसँगै पदयात्री पर्यटक आउने क्रम सुरु भएको बताए। जीर्ण सडकका कारण व्यवसायीहरुले आफूलाई चाहिने सरसामान ल्याउन पनि मुस्किल भइहेको उनले सुनाए। व्यवसायी पुनले कोभिड–१९ अघिको अवस्थामा जस्तो विदेशी पर्यटक अझैपनि घाडेपानीमा भित्रन नसकेको बताए।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने पर्यटकीय गन्तव्य हुन्। कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन्।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिने ‘एक्याप’का प्रमुख डा कडरियाले बताए। चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो। अमेरिकी समाचार संस्था ‘सीएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। गत वर्षको शरद याममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ। अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए।

जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन्। कुनैताका विदेशी पर्यटकले चिनाएको यस क्षेत्रको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ।

नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न मानिसहरु पदयात्रामा निस्कन्छन्। शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका