जोडिनुहोस
  • होमपेज
  • सूर्यदर्शन सहकारीको पूरक जाहेरीः रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो?

सूर्यदर्शन सहकारीको पूरक जाहेरीः रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो?

काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो।

प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ अनुमति लिइएकामा जीबी भन्ने गितेन्द्रबाबु राईका आफन्त र सूर्यदर्शन सहकारी कै पूर्व सञ्चालक तथा कर्मचारीहरू रहेका छन्। पूरक जाहेरीमा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई विपक्षी बनाइएको छ। लामिछाने गृहमन्त्रीबाट हटेसँगै प्रहरीले यो मुद्दाको अनुसन्धानलाई अगाडि बढाएको छ।

तर अहिलेसम्म रविविरुद्ध भने पक्राउ पुर्जी जारी भइनसकेको प्रहरीको भनाइ छ। कास्की प्रहरीले काठमाडौं मै आएर लामिछानेलाई एक सरकारी कार्यालयमा लगेर प्रारम्भिक सोधपुछ गरिसकेको छ। सहकारी ठगीमा जोडिएका उनी संलग्न कम्पनीमा पनि प्रहरीले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर हब्स र नेचर नेस्ट कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। ती कागजातमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। साउनको पहिलो साता नै यी कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिने प्रहरीको तयारी भएपनि काठमाडौं प्रहरी प्रमुखले असहयोग गर्दा कास्कीकै टोली काठमाडौं आउन परेको थियो।

काठमाडौंको प्रहरी प्रमुखमा वसन्त रजौरेलाई लामिछानेले नै सरुवा गरेका हुन्। प्रहरीले पूरक जाहेरीपछि नै रास्वपा कै सहमहामन्त्री विपिन आचार्य, पूर्व डीआईजी छविलाल जोशी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग पनि कागज गराइसकेको छ।

बरामद भएका कागजात कास्की लगेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। गत माघ १६ गते नै पूरक जाहेरी परेर अनुसन्धान अगाडि बढेको थियो। पूरक जाहेरी परेको एकसातापछि कास्की प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा नेचर हबमा छापा मारेको थियो।

पूर्व डीआईजी छविराज जोशीको घरमा रहेको उक्त कार्यालयमा छापा मारेर प्रहरीले जीबी राईका विभिन्न ६ वटा सहकारीका सफ्टवेयर बरामद गरेको थियो। ती सफ्टवेयरबाटै रवि लामिछानेसँगका पनि कारोबार खुलेका थिए। बुटवलको सुप्रिम सहकारीको सफ्टवेयर कास्की प्रहरीले पठाइदिएको थियो। सोहीबाट विवरण खुलाएर प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।

रविविरुद्ध संसदीय छानविन समितिले पनि बयान लिइसकेको छ। समितिको म्याद १५ दिन थप भएर प्रतिवेदन लेखिरहँदा प्रहरीले पनि मुद्दा लैजाने गरी नै अनुसन्धानलाई अगाडि बढाएको हो। समितिको प्रतिवेदन आएको केही समयमै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ। सहकारी ऐन अनुसार उनीहरुलाई बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनसहित यी कम्पनीका प्रमुख जीबी भन्ने गितेन्द्रबाबु राई भने मलेसिया भागेका छन्। अरु पक्राउ परेका प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा छन्। फरार प्रतिवादीहरूको प्रहरीले खोजि गरिरहेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका