२०८० फागुन १४ गते | 26th of February 2024

अनिता बस्नेतः जो फूलको बगैंचामा सयपत्रीसँगै फक्रिइन् [भिडियाे]

अनिता बस्नेतः जो फूलको बगैंचामा सयपत्रीसँगै फक्रिइन् [भिडियाे]
प्रकाशित: २०७७ कार्तिक २२ गते १४:२०

काठमाडौं। ढकमक्क फुलेका सयपत्री र मखमलीको बगैंचाको बीचमा हातभरी फूल लिएर फूल टिप्दै गरेकी महिलालाई झट्ट देख्दा छुट्याउनै कठिन हुन्थ्यो। उनको पहिरनको रंग र सयपत्रीको रंग उस्तै थियो – सुन्तला रंगको। कार्तिक महिनाको तेस्रो साता भक्तपुरको सूर्यविनायकस्थित बगैंचामा पुग्दा ४५ वर्षकी अनिता बस्नेत फूल टिप्न व्यस्त थिइन्।
अहिले उनको व्यस्तता बढेको छ किनकि तिहार नजिकिएसँगै उनले फुलाएका फूलको माग उच्च भएको छ । मागअनुसार फूलको आपूर्ति गर्न उनलाई भ्याइनभ्याइ छ। भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ की बस्नेतले फूलको व्यवसाय गर्न लागेको २० वर्ष भयो।
हरेक वर्ष तिहार नजिकिएसँगै उनको व्यस्तता यस्तै गरी बढ्ने गरेको छ। र, उनले बजारको मागअनुसार मखमली र सयपत्री फूल उपलब्ध गराउँदै आएकी छिन्। राष्ट्रिय कृषक समूह महासंघ केन्द्रको सचिवालय सदस्यसमेत रहेकी उनी बजारको मागअनुसार मखमली र सयपत्री गरी २ प्रजातीका फूल खेती गर्दै आएको बताउँछिन्।
२० वर्षअघि उनको बगैंचामा फूल फुल्दैनथे । परम्परागत रुपमा गरिँदै आएका धान गहुँ नै उनको खेतका मुख्य उत्पादन थिए । तर, विगत २० वर्षयता उनको खेतबाट अन्नबाली विस्थापित भएका छन् र फूल फुल्न थालेका छन्। पहिले उनको दैनिकी आम नेपाली महिलाको जस्तै थियो।

२० वर्षअघि उनको बगैंचामा फूल फुल्दैनथे । परम्परागत रुपमा गरिँदै आएका धान गहुँ नै उनको खेतका मुख्य उत्पादन थिए । तर, विगत २० वर्षयता उनको खेतबाट अन्नबाली विस्थापित भएका छन् र फूल फुल्न थालेका छन्। पहिले उनको दैनिकी आम नेपाली महिलाको जस्तै थियो।

चुलो चौकोमै बिहान बेलुका बित्थ्यो, डोको बोकेरै दिन जान्थ्यो । उनलाई आफ्नो जीवन यसैगरी बित्छ भन्ने विश्वास भइसकेको थियो र उनले त्यसलाई स्वीकार पनि गरेकी थिइन् । तर, मनको एक कुनामा व्यवसायी बन्ने सपना पनि थियो। सपना चाहना बन्यो र चाहना अठोट अनि उनले फूल व्यवसायमा उत्रिने निर्णय गरिन्।
२० वर्षअघिको त्यो निर्णयले अहिले उनलाई सफल फूल व्यवसायी बनाएको छ। फूल खेती गरेर आम्दानी गरेका छिमेकका दौतरी देखेर जागेको रहरले अहिले उनी आफैंलाई सफल व्यवसायी बनाएको छ। आफ्नो लागि आवश्यक खर्च आफैं जुटाउन सकिने लालसाले थालेको व्यवसाय अहिले परिवारकै लागि राम्रो आम्दानीको स्रोत बनेको छ
‘छिमेकमा फूल खेती गर्ने साथीहरुले आम्दानी गरेको देख्दा रहर लाग्थ्यो आफ्नो लागि खर्चको जोहो हुन्छ र घरबाहिर पनि निस्किन पाउँछु भन्ने लाग्थ्यो’, २० वर्षअघिको स्मृतिलाई डिसीनेपालसँग साट्दै उनले भनिन्, ‘एकदिन साथीहरुसँग सल्लाह गरें। साथीहरुले पनि हौसला दिएपछि थोरै फूलका बिरुवाबाट खेती सुरु गरें।’
उत्पादन हुन थालेपछि सुरुमा उनलाई बजार पाउन निकै गाह्रो भएको थियो । साथीहरु ३ बजे बिहानै फूल बेच्न जाने भएकाले आफू छुट्छु भनेर रातभरी नसुती बस्ने गरेको उनी बताउँछिन्।
‘सुत्यो भने छुट्छु भनेर रातभरी नसुतेरै बस्थें। साथीहरुसँगै बजार जान थालेपछि अनुभव पनि हुँदै गयो’, उनले अगाडि थपिन्, ‘बजारमा पनि सँधै जाने र पहिलो चोटी जानेमा भेदभाव हुँदो रहेछ । पहिलो पटक जानेलाई अपमान हुँदो रहेछ । अनि सधैँ जान थालेपछि सबैसँग परिचय हुँदै गयो र विस्तारै सहज हुन थाल्यो।’
सुरुमा घर परिवारकोसमेत त्यति साथ नपाएकी उनले अहिले सम्पूर्ण परिवारको विश्वास जितेको बताउँछिन्। २ दशकअघि चुलो चौकोमै सीमित रहने उनी अहिले निर्णय गर्न सक्ने भएकी छिन्। जे गर्छु भन्दा पनि परिवारमा रोकटोक छैन। उनले गरेको निर्णयलाई अहिले घरका सबै सदस्यले खुशीसाथ स्वागत गर्छन्।
उनी बताउँछिन्, ‘सुरुमा घरमा पनि धान, गहुँ भए यति आउँथ्यो उती आउँथ्यो। यो के खेती गरेको होला भनेर सुनाइराख्नुहुन्थ्यो। यसबाट आम्दानी हुँदै गएपछि सबै खुशी हुनुहुन्छ।’ फूल खेतीमा हरेक सिजनमा अन्दाजी ५० हजार खर्च हुने बताउने उनी वार्षिक ६ देखि ७ लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन्।
उनी आफ्नो उत्पादनलाई भक्तपुरको सूर्यविनायक, ठिमी, काठमाडौंको कालिमाटी, असन, बानेश्वरलगायतका ठाउँहरुमा बिक्री गर्ने गरेको बताउँछिन् । फूल खेती गर्न धेरै समय दिनु पनि नपर्ने र अन्य खेती भन्दा सहज र लाभदायक भएको उनको अनुभव छ।
उनी भन्छिन्, ‘सुरुमा अलिकति गाह्रो हुन्छ । ब्याडहरु बनाउन र बजारको समस्या हुन्छ। सुरु गरिसकेपछि एकदमै सहज छ। तरकारीमा भन्दा यो सहज छ। बिरुवा लगाइसकेपछि दिनमा २ घण्टा समय दिए पुग्छ।’ यो फूललाई रोग लागे मात्रै विषादी राखे पुग्ने उनी बताउँछिन्।
उत्पादन गर्न थालेपछि मात्रै युरिया र वायो कम्पोष्टजस्ता मलको प्रयोग गरे पुग्ने उनको भनाइ छ। अहिले उनको पूरै परिवार उनलाई सघाउँछन्। उनका श्रीमान र उनी बिहान बेलुका गरेर पालो गर्छन्। बिहान एकपटक पानी भर्न आउनुपर्ने र बेलुका एकपटक पानी खोल्न आउनुपर्ने भएकाले आलो पालो गर्ने गरेको उनले बताइन्।
विशेषगरी २ जनाले नै फूल खेती हेर्ने गरेको र काम बढी हुने बेलामा चाहिँ परिवारका अन्य सदस्य र साथीहरु लिने गरेको उनले सुनाइन्। उनले हामीसँग कुरा गर्दै गर्दा सरकारसँग पनि गुनासो पोखिन्, ‘कृषकहरुले उत्पादन गरेका कुराहरुको बजारमा पहुँच पुग्न सजिलो छैन। हाम्रो सरकारको कार्यनीति नै छैन।
फूलको लागिसमेत भारतमा नै भर पर्छन्’ उनले भनिन्, ‘त्यसको सट्टा सरकारले नेपालमै कृषि क्षेत्रमा लाग्नेहरुलाई उत्साह दिने खालका कार्यक्रम ल्याउन जरुरी छ। यसो गरे आफ्नै देशको उत्पादनले बजार धान्न सकिन्छ । कृषि प्रधान देश भनिरहेका छौं । तर, सरकारले यहाँको किसानहरुको उत्पादन के छ भनेर निरीक्षणसम्म गरेको छैन।’
उनको महिलाहरुलाई घरबाट बाहिर निस्किन विशेष आग्रह छ। उनी घरभित्रै सीमित महिलाहरुलाई बाहिर निस्केर केही गर्न सुझाव दिन्छिन्। उनी भन्छिन्, ‘महिलाहरुलाई एउटा नाकको फुली पनि बेच्ने अधिकार छैन। अरुले खाइसकेपछि खाना खाने महिलाहरु अझ पनि धेरै छन् । उहाँहरुलाई म के भन्न चाहन्छु भने नडराउनुहोस्, हिम्मत गर्नुहोस् । म पनि तपाईहरुजस्तै महिला हो। पहिला म पनि डोको मात्रै बोक्थे।’
उनी अगाडि भन्छिन्, ‘अहिले म आफैँ स्कुटीमा फूल लिएर बजार जान्छु। अझ स्कुटीले नपुगेर केही गर्नुपर्छ भन्ने मलाइ जाँगर छ। तपाईँहरु पनि पछाडि परेर नबस्नुस्, अगाडि बढ्नुस्। निर्णय गर्नुहोस् । केही पर्‍याे भने हामीजस्ता महिलाहरुसँग सल्लाह लिनुहोस्।’ फूल खेती गर्ने कृषकहरुलाई खेती गर्नुपूर्व फूलको प्रजाति चिन्ने, उत्पादन कस्तो हुन्छ, बजार कस्तो छ सबै बुझेर मात्रै सुरु गर्न उनको सुझाव छ।
भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *