२०८० फागुन २० गते | 3rd of March 2024

नाम्लो र थाप्लोको भरमा टिकेको जीवन

नाम्लो र थाप्लोको भरमा टिकेको जीवन
कमला वस्ती प्रकाशित: २०७७ मंसिर ७ गते ७:३१

नुवाकोट। ‘त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु…’ बद्री पंगेनीले धेरै वर्ष पहिला यो गीत गाएका थिए। उनले गितमा ‘अझै नी लोकतन्त्र आको छैन है, जनताले भने झैं भाको छैन है’ पनि भनेका छन्। बद्री पंगेनीले भनेझै लोकतन्त्रको आभास नुवाकोटकी मन्जु ओझाले गरेकी छैनन्। उनलाई अझै पनि लोकतन्त्र आएको छैन झैं लागि रहेको छ।
‘रोजीराटीको लागि यो सब गर्नु पर्छ’, बालुवा बोक्ने डोकोको नाम्लो थाप्लोमा तलमाथि गर्दै ओझाले भनिन्, ‘म महिला हुँ भनेर भनेकी हैन। म अपांग छु त्यसैले यो कुरा गरेकी हुँ।’
मंसिरको कठ्याङ्रिदो चिसोमा त्रिशुलीको पानीमा पसेर बालुवा थुपार्नु मन्जु र उनी जस्तै धेरैको रहर हैन। बाध्यता हो। यो बाध्यताले आज नेपाली समाजका धेरै महिलाहरुलाई जगेडेको छ। बृहत शान्ति सम्झौता भएको पनि १४ वर्ष पार गरिसक्यो। तर, पनि ओझा जस्तै सोझा सिधाको दैनिकिमा कुनै पनि परिवर्तनको अनुभव भएको छैन।
‘हामी महिलाहरु शारीरिक रुपमा शसक्त भए पनि केही गर्न सक्दैनौं भन्छन्,’ नाम्लोले रन्केको थाप्लोलाई सितलता प्रदान गर्न नाम्लो बेलाबेलामा तलमाथि सार्दै ओझाले भनिन्, ‘म अपांगता महिला भएर पनि यी सपांग पुरुषहरुसँग काम गरेको छु। तपाईँलाई अच्चमलाग्न सक्छ। मलाइ गर्व लाग्छ। म उहाँहरुसँग काम गर्न सक्दो रहेछु।’
समाबेसी, समानता र अधिकारका जतिसुकै कुरा गरे पनि ओझाका लागि हैन रहेछ। उनी भन्छिन्, ‘हामी जस्ताका लागि हैन रहेछ। यो शासन, यी व्यवस्था, यी नेताहरु सबै आफू र आफन्तको लागिमात्र बनेका हुन जस्तो लाग्छ। फेरी धेरै कुरा गरिन भन्लान तर वास्तवमा हाम्रो लोकतन्त्र अझै आएको छैन।’

समाबेसी, समानता र अधिकारका जतिसुकै कुरा गरे पनि ओझाका लागि हैन रहेछ। हामी जस्ताका लागि हैन रहेछ। यो शासन, यी व्यवस्था, यी नेताहरु सबै आफू र आफन्तको लागिमात्र बनेका हुन जस्तो लाग्छ। फेरी धेरै कुरा गरिन भन्लान तर वास्तवमा हाम्रो लोकतन्त्र अझै आएको छैन।

त्रिशुलीको किनारमा ओझाका वरपर काम गर्ने अरु महिला पनि थिएनन्। शारिरिकरुपमा सशक्त पुरुषहरुको माझमा आफ्नो जीवन निर्वाकालागि जीवनसँग लडिरहेकी छन् उनी। त्रिशुलीको चिसो पानी, पानी मुनिको बालुवा, ढुङ्गामाटो र आफ्नो अशक्त शरीरसँगको उनको लडाईँ कहिलेसम्म हो उनलाई पनि थाहा छैन। उनी पनि यही दिनको प्रतिक्षामा रहेको सुनउँछिन्।
प्रत्यक्ष देखिने उनको समस्यालाई राज्यले दिने अपांगता भएको नागरिकको सेवा सुविधामा भने सामेल गरिएको छैन। ‘खुट्टामा मात्रै होइन ढाडको पनी समस्या छ दुवै तिरको समस्याले हिँड्न एकदम कठिन पर्छ’, उनी दुखेसो पोख्दै थिइन्। ‘राज्यले दिने सेवाबाट पनि बन्चित गराइयो, समाजले दिने तिरस्कार त हाम्रोलागि उपहार नै हो।’
त्रिशुलीको चिसोपानी र पानी भित्रको बालुवासँग परिपूरक भएकी मन्जुलाई पनि कोरोनाको प्रभावले छोडेन। ‘कोरोना सुरु भएपछि काम रोकियो,’ मन्जुले भनिन्, ‘बालुवामा खुट्टा टेक्न सजिलो हुने भएकाले काम गरिरहेकी थिएँ। अन्य ठाउँमा सम्भव नै छैन।’ उनले कोरोनाका कारण भएको लकडाउनका सुरुका दिनमा धेरै रात भोकै निदाउनु परेको सुनाइन्।
महामारीका बेला राज्यले दिने सेवा सुविधाबाट पनि मन्जु जस्ता धेरै बन्चित छन्। ‘गाउँका जनप्रतिनिधिको पनि आफन्तहरुले सेवा सुविधा पाएको देखिन्छ। सुनिन्छ। तर, हामीले पाउदैनौं। हामी कसैको आफन्त हैनौं।’ एकोहोरो उनी आफ्नो दुखेसो सुनाउँदै थिइन्।
परिवर्तनका लागि जतिसुकै ठूला कुरा गरे पनि सामाजिक परिवर्तन भने नभएको उनले आफ्नो अनुभवलाई दोहोर्याइन्। ‘परिवर्तन भयो भन्छन्,’ उनले भनिन्, ‘समाजले हामी शारीरिक अशक्तलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन गर्न सकेको छैन। अझै हामी माथि लगाइने लाल्छना, हाम्रो बारेमा बोलिने कटुबचनले जिउँदै मरेको अनुभूति हुन्छ। काम गर्न पर्ने शारीरिक परिश्रम भन्दा धेरै उहाँहरुको बच्चनले हामीलाई अझै अशक्त अनुभव गराउँछ।’
‘अझै नि लोकतन्त्र आको छैन है, जनताले भनेझै भा को छैन है’ मन्जु उक्त गित गुनगुनाउँदै आफ्नो नाम्लो र थाप्लोको भरमा टिकेको जीवनको बाटोमा लागिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *