२०८० फागुन १४ गते | 26th of February 2024

आज नवरात्रको सातौं दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको सातौं दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
Sanchar_np प्रकाशित: २०७८ असोज २६ गते ७:१५

काठमाडौं । आज नवरात्रको सातौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ ।

यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैं घरमा फूलपाती पनि भित्राइँदै छ ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको, दोस्रो दिन बह्मचारणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरियो । भने आज सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधाना गरिदैछ ।

यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकैदिन पूजा आराधना गनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैं, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *