२०८१ वैशाख २ गते | 14th of April 2024

काँग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन आज ५७ जिल्लामा सुरु

सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने आज प्रदेश अधिवेशन सुरु हुन सकेन

काँग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन आज ५७ जिल्लामा सुरु
Sanchar_np प्रकाशित: २०७८ मंसिर ३ गते १०:३०

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु भएको छ ।

आज बाँकी ५७ जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन भइरहेको छ ।

पर्वत, सोलुखुम्बु र डोल्पामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिएका छन् ।

सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने आज प्रदेश अधिवेशन सुरु हुन सकेको छैन ।

५७ जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिलाई जानकारी आएको समितिका सदस्य एकराज पोखरेलले बताए ।

उनले भने,‘सिन्धुपाल्चोकको तीन वटा वडा अधिवेशन बाँकी छ । तीन वटा वडा अधिवेशन हुन्छ । मंसिर ६ गते प्रदेश निर्वाचन अधिवेशन हुने छ । सर्लाही र रसुवामा नयाँ तालिका सार्वजनिक हुन्छ ।’

काँग्रेसले संखुवासभा, कालीकोट, दोलखा, मुस्ताङ, रुकुम पूर्व, गोरखा, बाजुरा, ताप्लेजुङ हुम्ला, रामेछाप, मुगु, बझाङ, म्याग्दी र मनाङमा भने जिल्ला अधिवेशन नै सम्पन्न भइसकेको छ ।

३ सय ३० वटा प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि ६ मंसिरमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ ।

प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका पालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि ले प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान गर्दै छन् ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका पालिका र वडा सभापति पनि मतदाता हुने व्यवस्था छ ।

सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवारले पनि मतदान गर्ने छन् ।

यस्तै पालिका अधिवेशनबाट निर्वाचित अपांगता भएका प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिले मतदाता हुन पाउने व्यवस्था छ ।

उनीहरुले प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिने छन् ।

कोषाध्यक्ष भने कार्यसमितिमा आएका १६ जना प्रतिनिधि मध्येबाट मनोनयन गरिनेछ । सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *