२०८१ साउन ८ गते | 23rd of July 2024

नौ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

नौ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
Sanchar_np प्रकाशित: २०७८ मंसिर १७ गते ११:५१

एजेन्सी । ओमिक्रोन नामक नयाँ भेरियन्टको त्रास बढ्दै गएपछि सरकारले अफ्रिका सहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई गएराती १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशिया लगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो ।

सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्य रूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

कोभिड–१९ नयाँ भेरियन्ट सङ्क्रमण भएका मुलुकमा सरकारको स्वीकृतिमा मात्र सरकारी कर्मचारी वा प्रतिनिधिमण्डललाई विदेश भ्रमणमा जान दिइनेछ ।

सरकारबाट सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने प्रतिबद्धता अनुरुप प्रतिदिन न्यूनतम दुई लाख जनालाई खोप अनिवार्य रूपमा दिलाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights