२०८१ वैशाख ३ गते | 16th of April 2024

भरतपुर कारागारले पीसीआर रिपोर्ट नभएसम्म कैदीबन्दी नबुझ्ने

भरतपुर कारागारले पीसीआर रिपोर्ट नभएसम्म कैदीबन्दी नबुझ्ने
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ६:३६

कोरोना संक्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए ।
सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ । कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए ।
‘पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौँ,’ उनले भने । कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए ।
कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिनको व्यवस्था गरिएको उनले बताए ।
अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको संख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ ।
२५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरूसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *