२०८१ जेठ ५ गते | 18th of May 2024

२५ हजार धरौटी बुझाएर छुटे २८ करोड राजश्व छली आरोपमा थुनामा रहेका उमाशंकर

२५ हजार धरौटी बुझाएर छुटे २८ करोड राजश्व छली आरोपमा थुनामा रहेका उमाशंकर
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ९:४८

सर्वोच्च अदालतले धरौटी घटाइदिएपछि राजश्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर रिहा भएका छन् । २८ करोड राजश्व छलीको आरोपमा पक्राउ परेका उमाशंकरलाई उच्च अदालत पाटनले ७५ लाख धरौटीमा मागेको थियो । उक्त धरौटी बुझाउन नसकेर उमाशंकर थुनामै थिए ।
शुक्रबार सर्वोच्च अदालतले उनको धरौटी घटाएर २५ हजार बनाइदिएको थियो । न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार धरौटी बुझाए थुनामुक्त गर्नु भन्ने आदेश दिएको हो ।
शुक्रबार धरौटी बुझाउने प्रक्रिया नसकिएपछि आइतबार २५ हजार धरौटी बुझाएर उनी छुटेको उच्च अदालतका प्रवक्ता नगिन्द्र केशरी पोखरेलले बताए ।
सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्याप्चे दुरूपयोग गरेर काठमाडौंमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स भन्ने कम्पनी खोलेका थिए ।
मिश्रले विभिन्न कम्पनीहरूबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले १७ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा चलाएको थियो । त्यसमध्ये उमाशंकर पनि थिए । उमाशंकरको नाममा रहेका कम्पनीले भने २८ करोड राजश्व ठगेको विभागको अभियोग छ।
सर्वोच्चले पनि मिश्रले नै उनको नाममा संस्था खोलेर आर्थिक फाइदा लिएको र उनी राजश्व चुहावटमा संलग्न रहेको नपाइएको आदेशमा उल्लेख गरेको छ।
त्यसमाथि रायभरको आर्थिक अवस्था पारिवारिक स्थिति हेरेर उनको धरौटी ७५ लाख निकै धेरै रहेको अदालतको आदेशमा उल्लेख छ ।
‘बिगोको दोहोरो दाबी अन्य मुख्य प्रतिवादीहरू उपरसमेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसुरबाट सिर्जित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्य र निवेदकको संलग्नताको स्थिति समेतको रोहबाट निवेदक प्रतिवादीबाट २५ हजार नगद वा जेथा धरौट माग गर्नु उपयुक्त र न्यायोचित हुनेमा,’ सर्वोच्च अदालतको आदेशमा उल्लेख छ,’७५ लाख धरौटी माग गर्ने गरेको उच्च अदालत पाटनको आदेश सो हदसम्म मनासिव देखिन नआएकोले बदर गरिदिएको छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *