२०८१ जेठ ११ गते | 25th of May 2024

ए डिभिजन लिग : १०औं चरणका खेलहरू माघको अन्तिम साताबाट

ए डिभिजन लिग : १०औं चरणका खेलहरू माघको अन्तिम साताबाट
Photo : ANFA
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ११:०६

सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणका खेलहरू माघको अन्तिम साताबाट सुरु हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका बाँकी खेलहरू माघको २७ गतेबाट सुरु गराउने तयारी गरेको हो ।
एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले लिगको १०औं चरणका खेलहरू माघको अन्तिम साता गर्ने तयारी भएको बताए ।
नवौं चरणका खेलहरू सकिएपछि करिब तीन साताका लागि लिगमा ब्रेक भएको थियो । यो बीचमा नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल तालिका एन्फाले बनाएको थियो ।
जसअन्तर्गत गत शनिबार नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससविरूद्व पहिलो खेल खेलिसकेको छ ।
नवौं चरणसम्मको खेल सकिँदा साविक विजेता मच्छिन्द्र क्लव लिगको शीर्ष स्थानमा छ । उसले जारी लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । मछिन्द्रले ९ खेलमा ७ जित, २ बराबरी खेल्दै २३ अंक जोडेको छ ।
अंक तालिकामा मच्छिन्द्रलाई पच्छ्याइरहेको मनाङले समान खेलमा ६ जित र एक बराबरी र २ हार व्यहोर्दै १९ अंक बनाएको छ ।
तेस्रो स्थानमा रहेको विभागीय टोली त्रिभुवन आर्मीको १७ अंक छ । उसले समान खेलमा चार जित पाँच बराबरी खेलेको छ । यता, १६ अंक रहेको थ्रीस्टार क्लव चौथो स्थानमा छ।
यो पटकको लिगमा रेलिगेसनबाट बच्नका लागि च्यासल युथ क्लव र फ्रेन्ड्स क्लवमाथि बढी दबाब रहेको छ । च्यासलको ५ र फ्रेन्ड्सको ३ अंक छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *