२०८१ जेठ ११ गते | 25th of May 2024

बुधबारबाट पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

बुधबारबाट पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:२३

बुधबार रातिबाट पश्चिमी वायुको प्रभाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ ।
राती प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ । मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
बिहीबार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी र गण्डकी प्रदेशका केहि भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *