२०८१ असार १ गते | 14th of June 2024

कुशल सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा

कुशल सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा
Sanchar_np प्रकाशित: २०७८ फागुन ८ गते १०:२३

ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा सहभागी आठवटै टिमले समान दुई–दुई खेल खेलिसकेका छन् ।
ग्रुप वान अन्तर्गत नेपालले दुई खेल जित्दा क्यानाडा र ओमानले एक–एक खेल जितेका छन् । फिलिपिन्सले भने दुबै खेलमा पराजय भोगेको छ ।
ग्रुप टु अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) ले दुबै खेल जितेको छ भने बहराईन र आयरल्यान्डले समान एक–एक खेल जितेका छन् । जर्मनीले दुबै हारेको छ ।
विश्वकप छनोट अन्तर्गत सर्वाधिक रन युएईका भृत्य अरविन्दले बनाएका छन् । अरविन्दले दुई खेलमा १ सय ३७ रन जोडेका छन् । उनले आयरल्यान्डविरुद्ध अविजत रहदै सर्वाधिक ९७ रन जोडे ।
क्यानाडाका म्याथ्यू स्पुर्स सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । म्याथ्यूले १ सय १९ रन बनाएका छन् । उनले फिलिपिन्सविरुद्ध अविजित १ सय ८ रन बनाए । म्याथ्यू जारी प्रतियोगिताको एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
कुशल भुर्तेल भने सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन् । कुशलले दुई खेलमा १ सय ९ रन बनाएका छन् ।
कुशलले फिलिपिन्सविरुद्ध अविजित रहदै सर्वाधिक १ सय ४ रन बनाएका थिए । सर्वाधिक विकेट लिने खेलाडी भने बहराईनका जुनैद अजिज रहेका छन् ।
उनले दुई खेलमा ७ विकेट लिएका छन् । जुनैदले जर्मनीविरुद्ध मात्र ५ रन खर्चेर ५ विकेट हात पारेका थिए ।
नेपालका सन्दीप लामिछाने र आयरल्यान्डका क्रेग योंगले समान पाँच–पाँच विकेट लिएका छन् । सन्दीपले फिलिपिन्सविरुद्ध ९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिएका थिए ।
आयरल्यान्डका क्रेगले बहराईनविरुद्ध १६ रन खर्चिएर सर्वाधिक ३ विकेट हात पारेका थिए । सर्वाधिक रनको साझेदारी गर्नेमा भने नेपालका कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।
उनीहरुले तेस्रो विकेटका लागि फिलिपिन्सविरुद्ध १ सय ७१ रनको साझेदारी गरे । क्यानाडाका रायान पठान र म्याथ्यू स्पुर्सले पहिलो विकेटका लागि फिलिपिन्सविरुद्ध १ सय ४९ रनको साझेदारी गरे ।
ओमानका कश्यप प्रजापति र जिशन मक्सुदले क्यानाडाविरुद्ध दोस्रो विकेटका लागि अविजित १ सय २९ रनको साझेदारी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *