२०८१ असार १ गते | 14th of June 2024

युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा पुटिनसँग वार्ताका लागि बाइडेन तयार

युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा पुटिनसँग वार्ताका लागि बाइडेन तयार
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते ६:२१

युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारमा बाइडेन पुटिनसँगको वार्ताका लागि तयार भएका हुन् ।

तर त्यसका लागि रुसले युक्रेनमाथि सैन्य आक्रमण नगर्ने प्रतिवद्धता जनाउनु पर्ने बाइडेनको शर्त छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँको पहलमा बाइडेन–पुटिन वार्ताको तयारी भएको हो । आइतबार म्याक्रोँले पुटिनसँग दुईपटक टेलिफोन वार्ता गरेर संवादको वातावरण बनाएका हुन् ।
युक्रेनसँगको सीमा क्षेत्रमा रुसले करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ । यसलाई अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनमाथि सैन्य आक्रमणको रुसी तयारी भनेका छन् । तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।
युक्रेन संकट समाधानका लागि कूटनीतिक प्रयास कमजोर बन्दै गएको ठानिएका बेला म्याक्रोँको पहलमा बाइडेन र पुटिनबीच वार्ताको तयारी भएको हो ।
सम्भावित बाइडेन–पुटिन वार्ताले युरोपमा पछिल्लो केही दशक यताकै गम्भीर सुरक्षा संकटको अवस्था आउनबाट रोक्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *