२०८० फागुन १४ गते | 26th of February 2024

रुस–युक्रेन तनाव : भारतीय नागरिक फर्काउन एयर इन्डियाको विमान किभतर्फ

रुस–युक्रेन तनाव : भारतीय नागरिक फर्काउन एयर इन्डियाको विमान किभतर्फ
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ७:५२

रुस र युक्रेनबीच चलिरहेको तनावका कारण युक्रेनमा अलपत्र अवस्थामा रहेका भारतीय नागरिकलाई स्वदेश फर्काउन मंगलबार भारतको एउटा विशेष विमान किभतर्फ उडेको छ । एयर इन्डियाको २०० भन्दा बढी सिट क्षमताको ड्रिमलाइनर बी–७८७ विमान यसका लागि प्रयोग गरिएको एएनआई समाचार एजेन्सीले जनाएको छ ।

युक्रेननजिकका सिमानाहरूमा एक लाख ५० हजार रुसी फौज तैनाथ गरिएपछि भारतले यो कदम चालेको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अझै पनि युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताइरहेका छन् ।
तर, अमेरिकाले पुटिनको भनाइलाई विश्वास गरेको छैन । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्समक्ष आफ्नो नागरिकको जीवन र सुरक्षा महत्त्वपूर्ण रहेको जनाएको छ ।

युक्रेनको सीमालगायत अरू क्षेत्रमा विद्यार्थी समेत गरी २० हजारजनाभन्दा बढी भारतीय नागरिक रहेका छन् । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस त्रिमूर्तिले भारतीयहरूको सकुशलता र सुरक्षा भारतको प्रमुख प्राथमिकता भएको बताएका छन् ।
एयर इन्डियाले फेब्रुअरी १८ तारिखमा नै यसै साताको मंगलबार, बिहीबार र शनिबार गरी भारत र युक्रेनको बोरिस्पल अन्तर्राष्ट्रिय विमानस्थलबीच तीनवटा उडान सञ्चालन गर्ने घोषणा गरेको थियो ।

युक्रेनबाट भारतीय नागरिक बोकेको पहिलो उडानको विमान मंगलबार राति राजधानी दिल्लीमा अवतरण हुने एएनआईले जनाएको छ ।भारत सरकारले यसै महिनाको सुरुमा मात्र युक्रेनतर्फको दुईतर्फी उडानमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

बीबीसीबाट ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *