२०८० फागुन २० गते | 3rd of March 2024

अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको उजुरी

अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको उजुरी
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ५:१९

अभिनेता पल शाह (पूर्णविक्रम साह) विरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध जाहेरी दर्ता भएको हो । प्रहरी उनको खोजीमा छ । प्रहरीका अनुसार जिप्रका तनहुँमा पीडितका बुबा उपस्थित भएर पलविरुद्ध जाहेरी दिएका हुन् । जाहेरीमा उल्लेख भएअनुसार गायिकाविरुद्ध अन्तिमपटक १४ वैशाखामा तनहुँ शुक्लागण्डकी नपा–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा बलात्कार गरेका थिए । १० पुस ०७७ मा पोखरास्थित होटेल प्राइम र ७ चैत ०७७ मा चितवनस्थित गैँडाकोट रिसोर्टमा पलले गायिकामाथि पटक–पटक बलात्कार गरेका थिए ।

जिप्रका तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले पल शाहविरुद्ध पीडितका आफन्तले जाहेरी दिएको बताए । उनले भने, पल शाहविरुद्ध पीडितको आफन्तले जाहेरी दिएका छन् । जबर्जस्ती करणीको जोहरी हामीकहाँ दर्ता भएको छ । घटनामा संलग्नविरुद्ध खोजी कार्य जारी छ ।’ प्रहरीका अनुसार अन्तिमपटक तनहुँमा घटना भएको हुँदा जाहेरी जिप्रका तनहुँमा दर्ता गरिएको हो । पीडितले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिन खोजेकी थिइन् ।

घटना तनहुँमा भएको हुँदा जाहेरी पनि सोही ठाउँमा दिनुपर्ने प्रहरीको सुझावपछि पीडतका आफन्तले जिप्रका तनहुँमा जाहेरी दिएका हुन् । प्रहरीमा दर्ता जाहेरीअनुसार पलले पीडितलाई विवाह गर्ने आश्वासनमा बलात्कार गर्दै आएका रहेछन् । यस क्रममा पलले पीडितलाई मायाप्रेमको नाटकसमेत गर्दै आएका थिए । झुटो आश्वासन दिएर पटक–पटक बलात्कार भएको हुँदा पीडितले कानुनबमोजिमको न्याय पाउनुपर्ने जाहेरीमा उल्लेख छ । जोहरीमा भनिएको छ, ‘परिवर्तित नामथर ०७८–७९ व्यास–१२ लाई माया प्रेम गरेको, विभिन्न गीतहरूको सुटिङ हुँदाको बखत हेरविचार गरेको बहानासमेत गरी मायाप्रेमको झुटो नाटक गरी जबर्जस्ती करणी गर्ने निज पूर्णविक्रम शाह भनिने पल शाहलाई कानुनी कारबाही गरी पाऊँ ।’

जाहेरीमा उल्लेख भएअनुसार पल पीडितसँग करिब वर्ष दिन निकट सम्बन्धमा थिए । त्यसपछि पलले पीडितलाई समय दिन छाडेका थिए । झुटो आश्वासन देखाएर पलले यौनशोषण गरेको महसुस पीडितले त्यसपछि मात्रै अनुभव गरेकी थिइन् । लगत्तै पीडित कानुनी उपचारका लागि प्रहरी कार्यालय पुगेकी थिइन् । खबर थाहा पाएर पलले पीडितलाई उजुरी नगर्न पटक–पटक सम्झाएका थिए । सामाजिक सञ्जालमा भाइरल भएका दुई पक्षबीचको संवाद सोही वेलाका हुन् । संवादमा पलले पीडितसँग यौनसम्पर्क गरेको स्वीकार गरेको सुनिन्छ । संवादमा पलले पीडितलाई उमेर पुगेलगत्तै विवाह गर्ने आश्वासन पनि दिएको सुनिन्छ ।

१० देखि १२ वर्ष कैद सजाय हुन सक्ने

पीडित गायिका अहिले १७ वर्षकी मात्रै छिन् । मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकालाई मञ्जुरी लिएर पनि यौनसम्बन्ध राख्न पाइँदैन । कसैले मञ्जुरी लिएरै यौनसम्पर्क गरे त्यसलाई करणी ठहरिने उक्त उपदफामा उल्लेख छ । दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’ यदि कसैले कानुन उल्लंघन गरे उल्लंघनकर्ताविरुद्ध १० देखि १२ वर्ष कैद सजाय हुने सोही दफाको उपदफा ‘घ’मा उल्लेख गरिएको छ ।

भनिएको छ, ‘सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ ।’ कानुनी व्यवस्थाबारे अधिवक्ता प्रवीण प्रधानले १८ वर्ष नपुगेका किशोरकिशोरीलाई नेपालको कानुनले नाबालक भनेको बताए । कसैले १८ वर्ष नपुगेको किशोरीसँग सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई कानुनले बलात्कार ठहर्ने उनको भनाइ छ ।

उनले भने, ‘नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक भन्छ । त्यो उमेरभन्दा कमका कसैसँग पनि मञ्जुरी लिएर वा नलिएर शारीरिक सम्पर्क राख्न पाइँदैन । कसैले राखे सहमतिमा होस् वा नहोस् त्यो बलात्कार नै ठहर्छ । कसुर गर्नेलाई १० देखि १२ वर्ष कैद सजाय हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *