२०८० फागुन १४ गते | 26th of February 2024

प्रदेश एकको पहिलो जित

प्रदेश एकको पहिलो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ११:४२

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा प्रदेश नं। १ ले पहिलो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

प्रदेश १ ले यस अघि पहिलो खेलमा नेपाल एपीएफ क्लबविरुद्ध ६ विकेटको पराजय भोगेको थियो । यता लुम्बिनीको भने पहिलो खेलमा ललितपुर मेयर्स ११ लाई २ रनले पराजित गरेको थियो ।

दुई खेलमध्ये एक–एक जित हात पारेको प्रदेश १ र लुम्बिनीको फाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । बिहीबारको खेलमा ८० रनको लक्ष्य प्रदेश १ ले १५ दशमलब ४ ओभरमा केवल १ विकेट गुमाएर पुरा गर्यो ।

प्रदेश १ को जितमा कप्तान रुविना क्षेत्रीले अविजित ४८ रनको योगदान गरिन् । काजल श्रेष्ठले २० रन जोड्दा अप्सरी बेगम ९ रनमा अविजित रहिन् ।

लुम्बिनीका लागि एकमात्र विकेट कृतिका मरासिनीले लिईन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रन जोडेको थियो ।

लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ३१ तथा लक्ष्मी चौधरीले २३ रनको योगदान गरिन् । प्रदेश १ का लागि सबनम राईले सर्वाधिक ३ विकेट हात पारिन् ।

रुविना क्षेत्री र हेरमायी रोयले एक–एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *