२०८० फागुन १४ गते | 26th of February 2024

चौथो दिन युक्रेनको दोस्रो ठूलो सहर प्रवेश गर्यो रूसी सेना

चौथो दिन युक्रेनको दोस्रो ठूलो सहर प्रवेश गर्यो रूसी सेना
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ८:२८

युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । पछिल्लो अपडेटअनुसार रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी किएभ बाहिर युक्रेनले रुसी सेनालाई कडा टक्कर दिएको छ भने युक्रेनी सेनाले रुसी पक्षमा लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको छ ।

यसैबीच, सामी ओब्लास्टको ओख्तिरकामा आइतबार बिहान रुसी आक्रमणमा ७ वर्षीया बालिकासहित ६ जना सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनको स्थानीय मिडियाले युक्रेनका गभर्नर दिमित्री जेहिवित्स्कीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

अर्कोतर्फ, रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइन विस्फोट गराएको छ। सोही क्रममा बार्सिलकिभमा गोली चल्दा पेट्रोलियम बेसमा आगलागीसमेत भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यअनुसार रुसले युक्रेनको नोभा काखोभका कब्जा गरेको छ । रुसले चेर्नोबिल कब्जा गरेपछि आणविक विकिरणको खतरा २० गुणाले बढेको छ । यस क्षेत्रमा रुसी सेनाको आन्दोलनले चारैतिर धुलो–धुँवा फैलिएको छ ।

फेसबुक कम्पनी मेटाले सबै रूसी मिडिया आउटलेटहरूलाई फेसबुक र इन्स्टाग्राममा विज्ञापन गर्न प्रतिबन्ध लगाएको छ। भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युवले रूसीको सरकारी सञ्चारमाध्यम आरटीसहित धेरै च्यानलहरू प्रतिबन्धित गरेको छ ।

युक्रेनमा भएको आक्रमणको विरोधमा प्रदर्शन गरिरहेका ३ हजारभन्दा बढी व्यक्ति रुसमा पक्राउ परेका छन् । रुसी आक्रमणमा ६४ युक्रेनी नागरिकको मृत्यु भएको र २४० जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।

 

युक्रेनले रुसी आक्रमणमा हालसम्म ३३ बालबालिकासहित १९८ जनाको मृत्यु भएको दाबी गरेको छ । यसबाहेक १ हजार ११५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघका एक अधिकारीले हालसम्म १ लाख ५० हजारभन्दा बढी युक्रेनी शरणार्थी पोल्याण्ड, मोल्डोभा र रोमानिया पुगेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *