२०८० फागुन ११ गते | 23rd of February 2024

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध झण्डै साढे ४ करोड बराबरको भ्रष्टाचार मुद्दा

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध झण्डै साढे ४ करोड बराबरको भ्रष्टाचार मुद्दा
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ९:४०

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध झण्डै साढे ४ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार ४ करोड ४५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । श्रेष्ठ संविधान सभाको दोस्रो निर्वाचनका लागि बनेको गैर दलीय सरकारका मन्त्री थिए ।

२०२६ साल चैत १८ गते शिक्षक पेशाबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ पेशा परिवर्तन गरी २०३६ सालमा शाखा अधिकृत बन्दै २०६४ सालमा सचिव बनी अवकाश पाएका थिए ।

श्रेष्ठ त्यसपछि २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकूद मन्त्री बनेका थिए ।

सरकारी सेवा र मन्त्री बन्दाको अवधिमा कूल आर्जन ६ करोड ९० लाख १६ हजार ६ सय २७ गरेकोमा ४ करोड ४५ लाख २७ हजार ६६४ रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

’निजले नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको (छ),’ अख्तियारको विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले श्रेष्ठकी श्रीमती र छोरालाई पति प्रतिवादी बनाएको छ ।

‘गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति र कानूनबमोजिम हुन आउने ब्याजसमेत आरोपितहरूको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्नका लागि सम्बन्धित निकायलाई लेखी पठाई रोक्का राख्ने र निज रामकुमार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घर समेतको स्रोत पुगेको सम्पत्तिबाट असुलउपर हुन माग दाबी लिइएको छ,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ, ’निज रामकुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठका नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ तथा प्रतिवादी सरस्वती श्रेष्ठको नाममा रहेको स्रोत खुलेको सम्पत्तिबाट नपुग बिगो भरिभराउ गर्ने प्रयोजनको लागि समेत निज सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठलाई प्रतिवादी कायम गरी निजहरूको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *