२०८१ असार १ गते | 14th of June 2024

युक्रेनको दोस्रो ठूलो सहरको सडकमै दोहोरो भिडन्त

युक्रेनको दोस्रो ठूलो सहरको सडकमै दोहोरो भिडन्त
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते १०:११

रुसी सैनिक आइतबार युक्रेनको दोस्रो ठूलो सहर खरकिबमा प्रवेश गरेका छन्। युक्रेनको दक्षिणी भागमा पर्ने खरकिबमा रुसी सैनिकको प्रवेशपछि तनावको अवस्था सिर्जना भएको छ। अहिले त्यहाँको सडकमा रुसी र युक्रेनी सेनाबीच दोहोरो भीडन्त भइरहेको एसोसिएटेड प्रेसले जनाएको छ।

यसअघि आजै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वार्ताका लागि राखेको प्रस्ताव युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्वीकार गरेका छन्। पुटिनले बेलारुसलाई वार्तास्थलका रुपमा प्रस्ताव राखेका थिए। तर जेलेन्स्कीले रुसले बेलारुसको भूमि प्रयोग गरेर युक्रेनमाथि आक्रमण गरेकाले बेलारुसमा वार्ता गर्न जान नसक्ने जवाफ दिएका छन्।

उनले बेलारुसबाहेक अन्य स्थानमा वार्ता गर्न सकिने बताएका छन्। युक्रेनको राजधानी किभ नजिक आकाशमा विशाल विस्फोटनका आवाज सुनिएको थियो।

रुसी सेनाको आक्रमणबाट जोगिन त्यहाँका जनता घरभित्रै बन्दी भएका छन्। कतिपय मानिस जमिनमुनि लुकिरहेका छन्। रुसी सेनाले खरकिब सहरमा ग्यास पाइपलाइनमा विस्फोट पनि गराएका छन्।

युक्रेन सरकारले ३९ घण्टे कर्फ्यु लगाएपछि त्यहाँका जनता सडक बाहिर निस्किन पाएका छैनन्। अहिलेसम्म १ लाख ५० हजार युक्रेनी नागरिक मुलुक छोडेर पोल्यान्ड, मोदोभा र अन्य छिमेकी मुलुक गएका छन्। करिब ४० लाख युक्रेनी नागरिक विस्थापित हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ।

युक्रेनको वर्तमान सरकारलाई अपदस्थ गरी आफू समर्थित सरकार गठनका लागि रुसले योजना बनाइरहेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सर्वसाधारण मानिसको बस्ती रहेका क्षेत्रमा रुसले सैन्य हमला नगरेको बताइएको छ। रुसले युक्रेनका सैन्य इलाकालाई लक्ष्य गरी क्षेप्यास्त्र तथा हवाई आक्रमण गरिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसको आक्रमणमा परी अहिलेसम्म २ सय जनाको ज्यान गइसकेको छ भने धेरै जना घाइते भएका छन्।

रुसको आक्रमणपछि युक्रेनको राष्ट्रिय सुरक्षा नै संकटमा परेपछि अमेरिका लगायत पश्चिमा मुलुकले रुसलाई थप आर्थिक नाकाबन्दी लगाउने घोषणा गरिसकेका छन्। युक्रेनले पनि रुसको प्रतिवाद गर्दै सैनिक हमला गरिरहेको छ।

युक्रेन संकटलाई पश्चिमा मुलुक र रुसबीचको भूराजनीतिक टकरावको हिस्सा मानिएको छ। युक्रेनले अमेरिकी धुरीको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन प्रयास गरेपछि रुस चिढिएको हो।

युक्रेनलाई नेटोको सदस्यता लिनबाट रोक्न रुसले सैन्य हमला गरेको हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा रुसले गरेको आक्रमणको निन्दा गर्न शनिबार पेस भएको एक प्रस्तावमा रुसले भिटो लगाएको छ। रुसले भिटो लगाएपछि उक्त प्रस्ताव फेल भएको थियो। अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पेस प्रस्तावका पक्षमा मत दिएका थिए।

उक्त प्रस्तावको मतदान प्रक्रियामा नेपालका छिमेकी चीन र भारत भने अनुपस्थित भए। रुसलाई नचिढ्याउन उनीहरुले प्रस्तावका पक्षमा मतदान नगरेका हुन्। रुसको भर्त्सना गर्न अमेरिकी धुरीका पश्चिमा मुलुक एकमत देखिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *