२०८१ असार १ गते | 14th of June 2024

आज महाशिवरात्रि, देशभर मनाइँदै

आज महाशिवरात्रि, देशभर मनाइँदै
Sanchar_np प्रकाशित: २०७८ फागुन १७ गते ५:२०

आज हिन्दुहरुको महान चाड महाशिवरात्रि । देशभरका विभिन्न मठमन्दिरमा आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाआराधना गर्छन् ।

शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण तथा ग्रन्थमा वर्णन गरिएको छ ।

यस दिन रातभरि जागा रहेर, भजनकीर्तन गरेर, धुनी बालेर शिवको पूजाआराधना गर्ने चलन रहेको छ । कोही भने यसदिन उपवास पनि बस्ने गरेका छन् । बिहानै उठेर नुहाइधुवाइ गरी शिवलिंगमा बेलपत्र, जल, दुध अपर्ण गरे शिवको पूजा सार्थक हुने हिन्दू मान्यता रहिआएको छ ।

यसैबीच हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल मानिने पशुपतिनाथमा यस पर्वको छुट्टै उल्लास हुने गर्दछ । छिमेकी राष्ट्र भारतबाट हजारौँको सङ्ख्यामा तीर्थालुहरु भित्रिन्छन् । योगी, सन्त, बाबाहरुको घुइँचो लाग्छ । देशविदेशबाट तीर्थालु तथा पर्यटकहरु दर्शनका लागि आउने गर्दछन् । पशुपति परिसर कुनै रमणीय मेलाजस्तै झलमल्ल सजिएको हुन्छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *